भोलिबाट देशभरका शैक्षिक संस्था खुल्ने

भोलिबाट देशभरका शैक्षिक संस्था खुल्ने



काठमाडौँ । भोलि फागुन १ गते आइतबारबाट देशभरका शैक्षिक संस्थामा पठनपाठन हुने भएको छ । यसअघि अनलाइनको माध्यमबाट पठनपाठन गर्दै आइरहेका शैक्षिक संस्थाले भौतिक उपस्थितिमा नै पढाउन लागेको हो ।

विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले विज्ञप्ति जारी गर्दै मापदण्डको पालना गर्दै पठनपाठन सञ्चालन गर्ने अनुपति दिएको हो ।

‘विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुण १ गतेबाट सञ्चालन गर्ने। विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्नेु उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ।’ शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन्।