एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक

एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक



काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको दावी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शनिबार केही सञ्चार माध्यमसँग कुराकानी गर्दै आगामी बैठकबाट एमसीसी टुंगो लाग्ने बताएका हुन् । एमसीसी पनि पास गर्ने र सत्ता गठबन्धन पनि नटुट्ने विषयमा दलहरुबीच मध्यमार्गको खोजी भएको छ । माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले लामो समयदेखि एमसीसी संसदमा टेबल गर्न मानेका थिएनन् । पछिल्लो सहमति अनुसार उनीहरू संसदमा एमसीसी टेबल गर्न राजी भएका छन् ।

माओवादी र एकीकृत समाजवादीले संसद बहिष्कार गरेर सम्झौता पास गर्न सघाउने

सम्भवतः फागुन ४ गते बस्ने संसद बैठकमा सभामुख अग्नी सापकोटाले छलफलका लागि एमसीसी टेबल गर्नेछन् । एमसीसी संसदमा टेबल गरेपछि विपक्षमा रहेका दलहरुले संसद बहिष्कार गरेर निस्कनेछन् भने बाँकी रहेका संख्यालाई उपस्थित संख्या मानेर बहुमतबाट यो सम्झौता पारित गर्ने तयारी सत्ता गठबन्धनको छ ।

कुनै पनि विधेयक वा प्रस्ताव प्रतिनिधिसभामा पारित गर्न सम्पूर्ण संख्याको एक–चौथाइ सांसद उपस्थित हुनुपर्छ । प्रतिनिधिसभाका २७५ सदस्यको एक–चौथाइ पुग्न ६९ जना उपस्थित भए पुग्छ । प्रतिनिधिसभामा नेपाली कांग्रेससँग ६१ सांसद छन् । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि एमसीसीकै पक्षमा छन् । नेकपा एमाले, माओवादी र एकिकृत समाजवादीले संसद बहिष्कार गर्दा एमसीसी पास गर्न झनै सजिलो हुनेछ ।