चर्चित अभिनेत्री रेखा थापाले गरिन् जाजरकोटका बलरामसँग बिहे

चर्चित अभिनेत्री रेखा थापाले गरिन् जाजरकोटका बलरामसँग बिहे



काठमाडाै । चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् । रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ ।

रेशा र बलराम विगत एक वर्षदेखि गहिरो प्रेममा थिए । रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् । रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०७९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् ।

जाजरकोट स्थायी घर भएका बलराम पर्यटन व्यवसायी हुन् । विवाह बन्धनमा बाँधिएका रेखा र बलराम शाहीबीच दुई वर्षको उमेर अन्तर छ । बलराम शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।