विश्वकप ग्लोबल छनोट: नेपालले आज ओमानसंग खेल्दै

विश्वकप ग्लोबल छनोट: नेपालले आज ओमानसंग खेल्दै



काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को पहिलो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल बिहान ११ः ४५ मा सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ । गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । जसको कारण पनि नेपाल उच्च मनोबलमा रहेको छ । तर, नेपाललाई घरेलु टोलीविरुद्ध जित निकाल्न सहज भने छैन । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

छनोटको नेपालको दोस्रो खेलमा नेपालले फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।