ओमानलाई ३९ रनले हराउँदै नेपालको विजयी सुरुआत

ओमानलाई ३९ रनले हराउँदै नेपालको विजयी सुरुआत



काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा नेपालले विजयी सुरुआत गरेको छ । अल अमेरात क्रिकेट मैदानमा शुक्रबार ओमानलाई ३९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

१ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो । ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए । अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे । कमल सिंह ऐरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए । कमलले पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतिलाई दिपेन्द्र सिंह ऐरीबाट शुन्य रनमा क्याच आउट गराएका थिए ।

नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ । विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।