ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो

ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो



काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले ओमानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । ओमानविरुद्ध मस्कटको अल अमेरत क्रिकेट मैदानमा घरेलु टोलीले दिएको ८८ रनको लक्ष्य नेपालले २२ बल अगावै मात्र एक विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ५३ बलमा तीन चौका र दुई छक्कासहित ५५ रन बनाए । यसबाहेक, नेपालका अर्का ओपनर आशिफ शेख १८ बलमा एक चौकासहित १३ रन बनाएर पभेलियन फर्किदा आरिफ शेख २७ बलमा एक चौकासहित २१ रन बनाए ।

कुशलको यो पाँचौ ट्वान्टी २० अर्धशतक हो । जुन ट्वान्टी २० क्रिकेटमा नेपाली ब्याटरले बनाएको सर्वाधिक अर्धशतक हो । उनले पारस खड्काको नाममा रहेको चार अर्धशतकको कीर्तिमान तोडे । उनले हालसम्म ट्वान्टी २० क्रिकेटमा पाँच अर्धशतकसँगै एक शतक प्रहार गरेका छन् ।

ओमान कप्तान जिसन मक्सुदले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो ।

ओमानका मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बलमा तीन चौका प्रहार गरे । यस्तै, अयान खानले १६, नसिम खुसीले १५ र कलिमुल्लाहले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १३ रन मात्र खर्चिए । यसबाहेक, सागर ढकाल, कमलसिंह ऐरी, आरिफ शेख र अविनाश बोहराले समान एक विकेट लिए ।

छनोटको सेमिफाइनलमा पराजित भएपछि दुवै टोलीको विश्वकप सम्भावना समाप्त भएको थियो । सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

आयरल्यान्ड र ओमान पनि अहिले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलमा जित निकालेसँगै दुवै टोली अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने ट्वान्टी २० विश्वकपमा छनोट भइसकेका छन् ।