सिटीले एभर्टनलाई हरायो, पिएसजीलाई १६ अंकको अग्रता

सिटीले एभर्टनलाई हरायो, पिएसजीलाई १६ अंकको अग्रता



लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएकाे छ । शनिबार राति भएकाे खेलमा सिटीले एभर्टनलाई १-० अन्तरले पराजित गरेको हाे । रोमाञ्चक बनेको खेलमा सिटीलाई जिताउन फिल फोडेनले खेलको ८१औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा छ । राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग गोल रहित बराबरीमा रोकियो । एस्टन भिल्लाले ब्राइटन र न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई समान २-० अन्तरले पराजित गरेकाे छ ।

ला लिगामा रियललाई ९ अंकको अग्रता
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएकाे खेलमा शीर्ष स्थानको रियलले जित निकालेकाे हाे । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १-० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए । जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा छ । दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ ।

पिएसजीलाई १६ अंकको अग्रता
फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) ले शनिबार राति पुनरागमन सहित सेन्ट एरिएनमाथी ३-१ अन्तरको जित निकालेको छ । घरेलु मैदानमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाले सान्त्वना गोल गरे । जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ । पिएसजीको २६ खेलबाट ६२ अंक छ । पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा छ । समान खेलबाट दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ ।

म्पोलीमाथि युभेन्टसको रोमाञ्चक जित
इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ । युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा मोइस किनले एक गोल गरे । इम्पोलीको लागि जुर्कोवास्की र आन्द्रे ला मान्टियाले गोल गरे । जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा छ । इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा छ । २७ खेलबाट ५७ अंक बनाएको एसि मिलान शीर्ष स्थानमा रहेको छ ।