सलाम शेरबहादुर दाइ !

सलाम शेरबहादुर दाइ !



– विजयराज अधिकारी

अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि आम संचार माध्यम र सामाजिक संजालमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यापक प्रशंसा भएको छ । वरिष्ठ पत्रकारदेखि नेता कुटनीतिक तथा राजनीतिक विश्लेषक एवम् आम सर्वसाधारणले देउवाको पक्षमा सामाजिक संजालमा दिएको अभिव्यक्ति र यसमा अन्तरनिहित भावनाले राजनीतिक कद ह्वात्तै बढाइदिएको छ ।

संसदबाट एमसीसी अनुमोदन भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यक्त अभिव्यक्तिहरु

सामाजिक संजालमा भरिएका यस्ता कयौ मनोभावनाले साच्चै प्रधानमन्त्री देउवा अनुभवी, परिपक्व र राष्ट्रिय आवश्यकता पूरा गर्न सक्ने राजनेताको छवी निर्माण गर्न सफल भएका छन् ।

एमसीसी राष्ट्रघाति नभएको र यसले नेपालको पूर्वाधार विकासमा ठूलो सहयोग पुर्याउनेमा देउवाको विश्वास रहिआएको थियो । त्यसैले यसलाई जसरी पनि अनुमोदन गर्नुपर्ने पक्षमा देउवा निरन्तर उभिदै आएका थिए । एमसीसीको अपव्याख्या र त्यसैलाई आधार मानेर यसको तीव्र विरोध भइरहदा पनि देउवाले कुनै पनि दिन आफ्नो अडान छोडेनन् । माओवादी केन्द्रको महाधिवेशनमा संवोधनका क्रममा देउवाले ‘पढ्नुपर्यो क्या पढ्नुपर्यो कहाँ छ एमसीसीमा राष्ट्रघात । म पनि नेपालको प्रधानमन्त्री हुँ राष्ट्रघात हुने कुरा म किन गरम्ला… ’ । भनेर दिएको अभिब्यक्तिमा एमसीसी पारित गर्न सत्तागठबन्धन अझ खासगरी पुष्पकमल दाहाल प्रचण्डको साथ र सहयोग खोजेको स्पष्ट आशय रहेको थियो ।

पछिल्लो समय पटकपटक प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर प्रधानमन्त्रीले गरेको वार्तालाभ तथा खोजेको साथ र सहयोग राष्ट्रिय सहमति निर्माणको महत्वपूर्ण पहल कदमी थियो । हुन त गठबन्धन टुटाउने, राष्ट्रिय एकतालाइ कमजोर पार्ने र अस्थिर भू–राजनीतिको भूमरीमा नेपाललाई फसाएर आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न उद्धत विभिन्न समुहको अतृप्त चाहना यस बिचमा सतहमै नदेखिएका होइनन तर ती सबै षडयन्त्रलाई असफल पारेर साच्चै नेपाली राजनीतिको मियो भूमिकामा प्रधानमन्त्री देउवाले आफूलाई जसरी उभ्याउन सफल हुनुभयो यसले देउवाको कद उचो त भएकै छ साथसाथै नेपाल र नेपालीको शान पनि विश्व समुदायमा ह्वात्तै बढेको छ ।

एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि प्रधानमन्त्री तथा काग्रेस सभापति देउवाले एकै चोटी पाँचवटा सफलता प्राप्त गरेका छन् ।

१. नेपाली कांग्रसभित्र सम्पूर्ण एकताः एमसीसीका सन्दर्भमा देउवाले पार्टीभित्र अभूतपूर्व एकता कायम राख्न सफल भए । कुनै पनि कांग्रेस नेता तथा कार्यकर्ता एमसीसीको विरुद्ध देखिएनन् । सभापतिको साथ र सहयोगमा सबै गोलबद्ध भए । यसरी राष्ट्रिय बहसमा व्यापक चर्चामा रहेको एमसीसीको पक्षमा काग्रेसभित्र सम्पूर्ण एकता कायम राख्न प्रधानमन्त्री देउवा सफल बनेको देखिन्छ । संसदमा कांग्रेस सांसदहरुको प्रस्तुति खासगरी महामन्त्री गगन थापाको वजनपूर्ण वहस र मन्तब्य यसैको ज्वलन्त उदाहरण हो ।

२. गठबन्धनको विश्वास कायमैः सात महिनाअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारविरुद्ध तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न बनेको पाँच दलिय गठबन्धन अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी स्वीकार गर्ने कि नगर्ने भन्ने विवादसँगै टुट्ने अवस्थामा पुगेको थियो । तर देउवाले मन्त्रीपरिषदबाट व्याख्यात्मक घोषणा पारित गरेर गठबन्धनका नेताहरुको मागको सम्वोधन पनि गर्ने एमसीसी संसदबाट अनुमोदन पनि गराउने अर्थात् साप पनि मर्ने लाठी पनि नभाँचिने उपायमा सबैलाई सहमत गराउनुभयो । अन्ततः संसदबाट एमसीसी अनुमोदनका पक्षमा सत्ता गठबन्धनका शीर्ष नेताहरु उभिए र सबैले पक्षमा मत पनि दिए । गठबन्धनको विश्वास कायमै राखेर देउवाले संसदबाट एमसीसी अनुमोदन गर्न अपनाएको परिपक्क र सुझबुझपूर्ण उपाय सर्वत्र प्रशंसनीय छ ।

३. प्रमुख प्रतिपक्षको मौन समर्थनः सभामुखले न्याय गरेनन् भनेर निरन्तर प्रतिनिधिसभामा अवरोध कायम गर्दै आइरहेको नेकपा एमाले पनि एमसीसीको विपक्षमा थिएन । एमसीसीमा समर्थन जनाउन संसदीय प्रक्रियामा भाग लिने वातावरण तयार गरिदिन प्रधानमन्त्रीलाई एमालेले पटकपटक आग्रह गर्दै आइरहेकै थियो । तर त्यो परिस्थिति निर्माण हुन सकेन । तथापि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसदमा दर्ता गराएको एमसीसीसम्बन्धी प्रस्तावलाई अघि बढाएका देउवाले यसमा उनको साथ र सहयोगको अपेक्षा गरेका थिए । पुरानो मित्रता र सम्बन्धको उपयोग मात्र होइन राजनीतिक चातुर्यता समेत प्रदर्शन गरेर देउवा बालकोटमै पुगेर एमसीसीमा ओलीको समर्थन खोज्न देउवाले कुनै कसर बाँकी राखेनन् । गठबन्धनमा गडबडी आयो र सहयोग गर्नुपर्ने अवस्थामा झण्डै दुइतिहाइसहित एमसीसी अनुमोदन गर्न सघाउने ओलीको बचन एक असल मित्रका रुपमा देउवालाई ओलीले दिएकै थिए । अन्ततः मित्रता पनि नटुट्ने गठबन्धन पनि नफुट्ने उपाय देउवाले रोजे । समग्रमा एमाले एमसीसीको पक्षमै उभियो तर संसदीय राजनीतिको अभ्यासमा प्राविधिक कारणले अभिन सकेन । समग्रमा एमसीसीको पक्षमा संसदभित्र अभूतपूर्व समर्थन जुटाउन देउवा सफल देखिए ।

४.जनताको भरोसा : एमसीसी संसदबाट अनुमोदन भएसगै नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा जनताको नजरमा जे बोल्छन् त्यही गर्छन्, जे गर्छन् त्यहि बोल्छन् भन्ने छवि उजिल्याउन सफल बनेका छन् । सधै राजनीतिक संकटकै समयमा सत्ता सम्हाल्नुपर्ने परिस्थिति बेहोर्दै आएका देउवाले यसपटक पनि आफुलाई जनताको सामु उच्च कदका नेताको रुपमा उभ्याउन सके । देउवा संकट मोचनका असल सारथी हुन भन्ने जनताको विश्वासलाई कायमै राख्न देउवालाई मिलेको सफलताले देउवालाई साँच्चै राजनेताको छवि निर्माण गर्न मद्दत पुर्याएको छ ।

५. अन्तरराष्ट्रिय समुदायको भरपर्दो साथ र सहयोग : एमसीसी आफूले प्रतिवद्धता गरेको मितिमै संसदबाट अनुमोदन गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तरराष्टिय समुदायको विश्वास र भरोसालाई पनि कायमै राख्न महत्वपूर्ण सन्देश प्रवाहित गरेका छन् । एमसीसी पारित भएलगत्तै अमेरिकी दूतावासले गरेको स्वागत यसको उदाहरण हो । अमेरिकी जनताले उपहार स्वरुप दिएको अनुदान रकम भद्दा राजनीतिको शिकार भएर अनुमोदनमा उल्झन सिर्जना भएको भए कुनै पनि दातृराष्टले नेपाललाई नपत्याउने जोखिमपूर्ण अवस्था उत्पन्न हुने थियो । यसलाई चिर्दै प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय समुदायको भरपर्दो साथ र सहयोग नेपाललाई निरन्तर रहिरहने कुराको सुनिश्चितता कायम गर्न सफल बनेका छन् ।

अन्त्यमा एमसीसी अनुमोदनसँगै अब प्रधानमन्त्री देउवाको ध्यान तिनवटै तहको चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गर्नु र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाललाई समृद्ध राष्ट्रको रुपमा उभ्याउनेतर्फ केन्द्रीत हुने अपेक्षा गर्न सकिन्छ ।