भातृ संस्थाहरूको महाधिवेशनको विषयमा पार्टीभित्र छलफल भइरहेको छ : महामन्त्री शर्मा

भातृ संस्थाहरूको महाधिवेशनको विषयमा पार्टीभित्र छलफल भइरहेको छ : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भइरहेको बताएका छन् । महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताए ।

हिजाे सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उनले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताए । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका उनले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको पनि बताए ।

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहोर्‍याए । महामन्त्री शर्माले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टी भित्र देखिएको समस्यालाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए ।