आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी

आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी



बलिउड अभिनेता जेकी श्राफले मंगलबार आफ्नो ६४ औं जन्मदिन मनाए । जेकीको पहिचान बलिउडमा एक्सन र रोमान्टिक हिरोका रुपमा बनेको थियो । उनले बिना कुनै गडफादर फिल्म उद्योगमा आफ्नो स्थान बनाए र उनको गिन्ती बलिउडका दिग्गज अभिनेतामा हुन्छ । जेकीको जीवनलाई हेर्ने हो भने उनको जीवन एक बायोपिक कथाजस्तै छ ।

आफ्नो जन्मदिनमा उनले आफ्नो बायोपिकको विषयमा कुरा गरेका छन् । एक अन्तरवार्तामा उनले आफ्नो बायोपिकको नाम ‘भिडु, जग्गु’ हुने बताए । ‘यदि मेरो नाम लिनुपर्छ भने त्यो भिडु नै हुनेछ । तर मलाई थाहा छैन मलाई किन यो नामले बोलाउँछन्’, उनले भनेका छन् ।

उनलाई आफ्नो बायोपिकमा कुन अभिनेता हेर्न चाहनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले छोरा टाइगर श्राफको नाम लिएका छन् । टाइगर आफूजस्तै देखिने विश्वास जेकीमा छ ।

जेकी आफ्नो फिल्म ‘हिरो’को रिमेक बनोस् भन्ने चाहन्छन् । यो रिमेकमा पनि जेकी छोरा टाइगरलाई नै हेर्न चाहन्छन् । सन् १९८२ मा फिल्म ‘स्वामी दादा’बाट बलिउडमा करियर सुरु गरेका उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । उनले हिन्दीबाहेक तमिल, तेलुगू, मलयालम, बंगाली, पंजाबी, भोजपुरी, गुजराती, कोंकणी, उडिया, कन्नड र मराठी फिल्ममा काम गरिसकेका छन् ।

जेकी पछिल्लोपटक अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’मा देखिएका थिए ।