स्थानीय तहको निर्वाचनका विषयलाई लिएर सुरक्षा समिति बैठकमा छलफल

स्थानीय तहको निर्वाचनका विषयलाई लिएर सुरक्षा समिति बैठकमा छलफल



काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति आगामी जेठ ४ का लागि टुंगो लागेसंगै विभिन्न निकायहरुसंगको छलफल जारी छ । यसंबीच केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको भोलिपल्ट बुधबार गृहमन्त्री खाँणले सुरक्षा समितिको बैठक बसेको हो ।

गृहसचिव टेकनारायण पाण्डे, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी बैठकमा गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई लिएर सुरक्षा योजना पेस गर्न निर्देशन दिएका छन् ।

सोही बैठकमा वर्तमान शान्ति सुरक्षाको अवस्थाकाबारेमा पनि छलफल भएको छ । एमसीसीको विषयलाई लिएर हुन सक्ने सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ ।