एमालेकाे प्रष्ट मान्यता छ एमसीसी विकास परियोजना हो : उपमहासचिव प्रदीप ज्ञवाली

एमालेकाे प्रष्ट मान्यता छ एमसीसी विकास परियोजना हो : उपमहासचिव प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमसिसी एउटा विकास परियोजना मात्रै भएको बताउँदै सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाए ।

‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ,’ ज्ञवालीले भने । एमसिसी परियोजना एउटा विकास परियोजना भएको बताउँदै उनले त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको बताए ।

‘त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र, सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ ’ उनले भने ।