एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै : प्रचण्ड

एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने दाबी गरेका छन् । ‘प्रचण्ड’ले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्‍बाट पारित नहुने स्पष्ट पारेका छन्।

बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले भने -‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं। अन्य सहयोग लिइराखेका पनि छौं। तर, एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ,’ उनले भने, ‘त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन। एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन।’

प्रचण्डले गठबन्धन कमजोर नभएको जिकिर गर्दै एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको बताए । उनले भने, ‘गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरे पनि टुट्दैन।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीलाई देखाएर गठबन्धनभित्र खेल्न खोजेको आरोप प्रचण्डले लगाए। स्थानीय तहको निर्वाचन आगामी जेठमा हुन उल्लेख गर्दै प्रचण्डले पार्टीलाई गाउँ केन्द्रित बनाउनुपर्नेमा जोड दिए।