शीर्ष नेताको बैठकमा प्रचण्डको प्रस्ताव– ‘एमसीसीबारे चुनावपछि मात्रै छलफल गरौं’

शीर्ष नेताको बैठकमा प्रचण्डको प्रस्ताव– ‘एमसीसीबारे चुनावपछि मात्रै छलफल गरौं’



काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चाले मुलुक तातेको बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीबारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेकाे बैठकमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले छलफलका क्रममा माओवादी अध्यक्ष दाहालले एमसीसीलाई चुनावपछि छलफल गर्नु उपयुक्त हुने बताएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र दाहाल दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले निर्णय नगरी नबस्ने बताएका थिए । ओलीले आफूहरूले एमसीसी पास गर्नेबारे पहिले सरकार स्पष्ट होस् भन्ने राय राखेको पोखरेलले जानकारी दिए ।