कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

कमल थापाद्वारा पार्टी परित्यागको घोषणा



काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी परित्याग गरेकाे घोषणा गरेका छन् । उनी राप्रपाका पूर्वअध्यक्ष हुन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् । उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् ।

थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए ।

निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाएका थापाले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गर्दै आएका छन् ।