एमाले सांसदहरू एमसीसीबारे बोल्नै हिच्किचाउँछन् !

एमाले सांसदहरू एमसीसीबारे बोल्नै हिच्किचाउँछन् !



काठमाडौं । प्रमुख विपक्षी दल एमालेका सांसदहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बोल्न हिच्किचाएका छन् । बोल्दा विवादित हुने डर उनीहरूमा देखिएको छ । संसदबाट अनुमोदन गर्नुपर्ने भन्दै एमसीसीसम्बन्धी बहस भने चर्किएको छ ।

यहीबेला सोही पार्टीका सांसदहरू तीर्था गौतम (रुकुम), वसन्तकुमार नेम्बाङ (पाँचथर) र भूमिप्रसाद त्रिपाठी (धादिङ)ले एमसीसीबारे बोल्नै चाहेनन् । सांसद गौतमले भनिन्, ‘अहिल्यै एमसीसीबारे बोल्न मन छैन । बोल्नै परे पनि पास भएपछि बोलौंला । अहिले बोल्दा विवादित हुन्छु होला ।’

उनलाई न्युज कारखानाकर्मीले सोधेको थियो, ‘एमसीसी परियोजना के हो ? यसले राष्ट्र हित वा अहित के गर्छ ? हित गर्छ भने कसरी ? गर्दैन भने कसरी ?
गौतमले यसबारे विवादित हुन सक्ने भन्दै नबोलेपछि पाँचथरे सांसद नेम्बाङलाई सोध्दा उनले पनि बोल्न चाहेनन् ।

यसपछि सांसद त्रिपाठीलाई सोध्दा उनले अहिलेको एमसीसीबारे छलफलभन्दा पनि पहिले १४ सांसदलाई कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटाले संसद् खुलाउने वातावरण बनाउनु पर्ने बताए । ‘अहिले एमसीसीबारे बहस गर्ने बेला होइन । हाम्रो एजेण्डा थाहै छ तपाईंहरूलाई कि हामी संसद् खुलाउन सभामुखले हामी (एमाले) ले कारबाही गरेका सांसदहरूलाई पदमुक्त गराउन माग गर्दै आएका छौँ । होइन भने राजीनामा दिनुपर्ने भन्दै आएका छौँ । त्यही भएर एमसीसीले हित गर्छ गर्दैन भन्ने बहस नगरौँ,’ सांसद त्रिपाठीले भने ।

सरकारदेखि बाहिएपछि एमालेले एमसीसी अनुमोदन गर्ने पक्ष की विपक्षमा भन्ने स्पष्ट पारेको छैन । सरकारमा रहँदा भने एमालेको जोड अनुमोदन गराउनु पर्नेमा थियो ।