एनएसएल दोस्रो संस्करण: २४२ खेलाडी अक्सनमा

एनएसएल दोस्रो संस्करण: २४२ खेलाडी अक्सनमा



काठमाडौं । चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् ।शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले तीन क्याटागोरीमा छुट्याएको छ । जसमध्ये क्याटागोरी ‘ए’ मा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ मा समान एक सय एक खेलाडी छन् । एनएसएलको दोस्रो संस्करण चैत २६ गतेदेखि ८ वैशाखसम्म हुने तालिका छ । आयोजकले यस संस्करणमा तीन टोली थप गर्दै सहभागी क्लब संख्या १० पुर्‍याएको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा सात टोलीको सहभागिता थियो । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र विरगंंज युनाइटेड थपिएका हुन् । गत सिजन विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए । प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।