बेँसीसहर-चामे सडक दुई साता बन्द हुने

बेँसीसहर-चामे सडक दुई साता बन्द हुने



लमजुङ । बेँसीसहर–चामे सडक दुई साता बन्द हुने भएको छ । मनाङतर्फ तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि २० फागुनदेखि ५ चैतसम्मका लागि सडक बन्द हुने मनाङ प्रशासनले जनाएको छ । याे मनाङ जोड्ने एक मात्रै सडक हाे । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएकाले सडको विकल्प नहुँदा सडक बन्द गर्नु परेको बताए । उनले भने, ‘गत असारमा आएको बाढीले तिमाङ छ्हराको काठेपुल बगाएको थियो ।’बाढीपश्चात राखिको काठेपुल पनि जीर्ण भएकाले ढलानसहितको कल्भर्ट निर्माण गर्न लागिएको हो । बेँसीसहर चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।