एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा



लन्डन । इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो ।

खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका थिए । दोस्रो मिनेटमै रिस ब्रुकको गोलमा लुटनले अग्रता लिएको थियो । २७औं मिनेटमा साउल निग्वेजले चेल्सीलाई खेलमा फर्काए ।

पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा ह्यारी कोर्निकले गरेको गोलमा लुटनले पुनः अग्रता लियो । ६८औं मिनेटमा टिमो वार्नेरले पुनः चेल्सीलाई खेलमा फर्काए । त्यसको १० मिनेटपछि लुकाकुले बललाई जाली चुमाउँदा चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

यस जितपछि थोमस टचेलको टोलीले यस सिजन घरेलु प्रतियोगिता जित्ने सम्भावना जीवित राखेको छ । आइतबार लिभरपुलसँग पेनाल्टी सुटआउटमा ११-१० ले पराजित भएपछि चेल्सी इङ्लिस लिग कपको उपविजेतामा सीमित भएको थियो ।

क्रिस्टल प्यालेसविरुद्धको खेलमा खराब प्रदर्शन गरेको भन्दै लुकाकुले लिल र लिभरपुलविरुद्धको खेलमा भने टोलीमा अवसर पाएका थिएनन् । चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा बनर्लीको सामना गर्नेछ ।

त्यस्तै नर्विच सिटीमाथि २-१ को जितसहित लिभरपुल पनि एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । २७औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ३९औं मिनेटमा मिनामिनोले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

७६औं मिनेटमा लुकास रुपको गोलमा नर्विचले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । साउथहमटनले भने प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्ने क्रममा वेस्ट हमलाई ३-१ ले हरायो ।

पहिलो लेगमा युभेन्टसलाई अग्रता
इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १-० अन्तरको जित निकालेको छ । बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो ।

खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखे पनि गोल भने गर्न सकेन । यो जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।

मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहीत बराबरी खेलेका थिए । यी दुईबीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ ।