शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, आज सार्वजनिक विदा

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, आज सार्वजनिक विदा



काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार आज मनाउँदै छन् । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

यसैविच सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर आज सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । फागुन १९ गते आज ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको सूचनामा उल्लेख छ ।