नेपाल सुपर लिगको खेलाडी अक्सन नरोकिने

नेपाल सुपर लिगको खेलाडी अक्सन नरोकिने



काठमाडौं । नेपाल सुपर लिग फुटबल (एन.एस.एल)को आज शुक्रबार हुने भनिएको खेलाडी बोलकबोल अर्थात अक्सन नरोकिने भएको छ । अक्सन रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको आग्रहका बावजुद आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले अक्सन नरोक्ने तयारीलाई निरन्तरता दिएको छ ।

एनएसएल आयोजक कमिटीका एक पदाधिकारीका अनुसार आज शुक्रबारका लागि सबै तयारी भइसकेको र एन्फासँगको मौखिक सहमतिमै मिति राखिएकाले अक्सन गर्न लागिएको हो । एन्फाले हिजो अक्सन रोक्न पत्र काट्ने निर्णय गरेको बताएपनि आफूहरुले राती अबेरसम्म पत्र नपाएको आयोजकको दावी छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच बिहिबार बसेको बैठकले अक्सन प्रक्रिया स्थगित गर्न एनएसएलको आयोजकलाई पत्र काटेको बताएको थियो ।

आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार गर्न थालेको र आफ्नो क्लबबाट दर्ता रहेका खेलाडीलाई समावेश गरेर अक्सन गर्ने कुराप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्र क्लबसहित आठ क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै आएकाथिए ।