लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो



लन्डन । इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे ।

जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ । पराजित वेस्ट ह्याम २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा छ । सिटीले आज बेलुकी म्यानचेस्टर युनाइटेडसंग खेल्दैछ ।

यता चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन् । शनिबार राति भएकाे खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले हरायो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक -एक गोल गरे । जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ । बर्नली २१ अंक जोडेर १८ औं स्थानमा छ । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले हरायो । ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३-१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० तथा न्युकासलले ब्राइटनलाई २-१ अन्तरले हरायो ।

मुलरको आत्माघाति गोलमा बायर्न रोकियो
अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हो । घरेलु मैदानमा खेलको १८औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १-१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ । लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

रियल मड्रिडको पुनरागमन जित
स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडजिरूद्ध ४-१ अन्तरको पुनरागमन जित निकाल्दा शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ । घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औं मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जित सहित सिजनको १९औं जित निकालेको हो ।

रियलको जितमा इडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले एक-एक गोल गरे । यसअघि सोसिडाडका माइकलले गोल गर्दै अग्रता बनाएका थिए । जितसंगै रियलले दोस्रो स्थानको सेभियामाथी आठ अंकको अग्रता बनाएको छ । रियलको २७ खेलबाट ६३ अंक छ भने सोसिडाड समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा छ ।

पीएसजी दोस्रो स्थानको निससँग पराजित
फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो ।

लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।