जडेजाले पाँच विकेट लिएपछि श्रीलङ्का ‘फलोअन’मा

जडेजाले पाँच विकेट लिएपछि श्रीलङ्का ‘फलोअन’मा



काठमाडौँ । भारतका बलिङ अलराउन्डर रवीन्द्र जडेजाले पाँच विकेट लिएपछि मोहालीमा जारी पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्का ‘फलोअन’मा परेको छ । श्रीलंकाले १०८–४ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो । भ्रमणकारी टोलीका पाथुम निसान्का २६ र चरिथ असलंकका एक रन बनाएर क्रिजमा थिए । निसान्का ६१ रनमा अविजित रहे । असलंकाले २९ रन बनाए ।

श्रीलंकाले तेस्रो दिन थप ६६ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । श्रीलंकाका चार खेलाडीले रनको खाता खोल्न सकेनन् । दोस्रो दिन श्रीलंकाका लहिरू थिरिमानेले १७, दिमुथ करुणारत्नेले २८, एन्जेलो म्याथ्युजले २२ र धनन्जय डी सिल्भाले एक रन बनाएर पवेलियन फर्किएका थिए ।

तेस्रो दिन निसान्काले अविजित ६१ र असलंकाले २९ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि श्रीलङ्का फलोअनमा परेको हो । श्रीलंकाले पहिलो इनिङ्समा १७४ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

भारतका जडेजाले १३ ओभरमा चार मेडन राख्दै ४१ रन दिएर पाँच विकेट लिए । उनलाई जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान दुई विकेट लिएर साथ दिएका थिए । मोहम्मद शामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि, भारतले आठ विकेट गुमाएर ५७४ रन बनाउँदा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतका लागि जडेजाले अविजित १७५ रन बनाएका थिए । जडेजाबाहेक रिशभ पन्तले ९६, आश्विनले ६१, हनुमा विहारीले ५८, मयांक अग्रवालले ३३, कप्तान रोहित शर्माले २९, श्रेयस ऐयरले २७ रन बनाउँदा शामी २० रनमा अविजित थिए । जयन्त यादवले एक रन बनाएका थिए । अहिले श्रीलंकाले २ विकेट गुमाएर ३४ रन बनाएर खलिरहेको छ ।