क्वाटरफाइनल प्रवेशका लागि रियल मड्रिड र पीएसजी भिड्दै

क्वाटरफाइनल प्रवेशका लागि रियल मड्रिड र पीएसजी भिड्दै



काठमाडौं । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति दुई महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ । स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरु हुनेछ । यसअघि १६ फेब्रुअरीमा भएको पहिलो लेगमा फ्रेन्च लिग लिडर पीएसजीले घरेलु मैदानमा १-० को अग्रता बनाएको थियो । स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी चुकाएको खेलको अन्तिम समयमा केलियन एम्बाप्पेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

क्वाटरफाइनल प्रवेशका लागि पीएसजीलाई बराबरी काफी छ भने रियललाई कम्तिमा २-० को जित हात पार्नुपर्नेछ । यदि खेल बराबरीमा समाप्त भए पीएसजी अन्तिम आठमा स्थान बनाउनेछ ।यसैले घरेलु मैदानमा रियल पूर्ण रुपमा दबाबमा हुनेछ । पीएसजीविरुद्ध रियलका कासेमिरो र टोली क्रुस दुबै उपलब्ध हुने छैनन् । कासेमेरो निलम्बनमा परेका छन् भने क्रुस ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका छन् । इडुआर्डाे कामाभिङ्गा र फेडेरिको भाल्भर्डे भने उपलब्ध हुनेछन् । कार्लाे एन्सेलोटीको टिममा करिम बेन्जेमा, भिनिसिअस जुनियर, मार्काे एसेन्सियो, लुका मोड्रिक लगायत खेलाडी उपलब्ध हुनेछन् ।

यता, माउरिसियो पोचेटिन्होको टोलीमा चोटका बाबजुद पनि केलियन एम्बाप्पे मैदान उत्रँदै छन् । अभ्यास क्रममा खुट्टाको चोट बोकेका एम्बाप्पे खेल्दा रियलका पूर्व कप्तान सर्जियो रामोस भने उपलब्ध हुने छैनन् । पहिलो लिगमा समेत रियलविरुद्ध खेल्न नपाएका रामोस् दोस्रो लेगमा समेत टिम बाहिर छन् । रियलविरुद्ध पीएसजीको अग्रपंक्ति नेयमार, लियोनल मेस्सी र एम्बाप्पेले नै सम्हाल्ने सम्भावना उच्च छ । यस्तै उनीहरूलाई मार्काे भेराट्टी, इड्रिशा गुयेले सहायता गर्नेछन् । आज राति एकै समयमा हुने अर्काे खेलमा म्यानचेष्टर सिटी र स्पोर्टिङ सीपीबीच प्रतिस्पर्धा हुनेछ । इंग्लिस प्रिमियर लिग लिडर सिटीले पोर्चुगिज क्लबविरुद्ध पहिलो लेगमै ५-० को अग्रता बनाएको छ । दोस्रो लेगमा समेत सिटी घरेलु मैदानमा सहज जितको खोजीमा हुनेछ ।