संखुवासभा । संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ । १४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । बस दुर्घटनामा मृत्यु हुने १४ जनामध्ये १० जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया