म्यादी प्रहरीबारे भ्रामक सूचना कसले फैलायो ?

म्यादी प्रहरीबारे भ्रामक सूचना कसले फैलायो ?



काठमाडौं । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ । सोही आधारमा सरकारले आफ्नो तयारीलाई अगाडि बढाएको छ । निर्वाचन आयोगले समेत पूर्व तयारीलाई तिव्रता दिएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले पनि तयारी थालेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकासँगै सरकारले स्थानीय तहको निर्वाचनलाई सफल पार्न म्यादी प्रहरी समेत खटाउने तयारी गरेको छ । त्यसको लागि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना गर्नेछ । जुन चाँडै नै गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तर, सामाजिक सञ्जालमा भने एक लाख १८ हजार म्यादी प्रहरी भर्नाका लागि भन्दै नक्कली सूचना भाइरल भइरहेको छ । नेपाल प्रहरीको मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाको लेटरहेड बनाएर सूचना सार्वजनिक भएको थियो । उक्त नक्कली सूचना सार्वजनिक भएपछि धेरैले म्यादी प्रहरीमा आवेदन दिने भनेर समेत तयारी गर्न थालिसकेका थिए ।

उक्त सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीले सूचना गलत भएको भन्दै विज्ञप्ति निकालेको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट प्रकाशित भएको विज्ञप्तिमा स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनि सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित प्रसारित नभएको प्रष्ट पारेको छ ।

आवश्यक पर्ने म्यादी प्रहरीसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाईट र सार्वजनिक सञ्चार माध्यमबाट भविष्यमा प्रकाशित हुने भने प्रष्ट पारिएको छ ।
यसरी भ्रामक सूचना रोक्ने निकायकै गलत सूचना सार्वजनिक भएपछि सबैको ध्यान त्यतातिर केन्द्रित भएको छ । आखिर कसले उक्त नक्कली सूचना सार्वजनिक गरेको थियो ?

नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले गलत सूचना सार्वजनिक गर्नेको खोजी भइरहेको बताए ।

भ्रामक सूचना सार्वजनिक गर्नेको खोजी भइरहेको भन्दै चाँडै पक्राउ पर्ने उनको भनाइ छ । ‘प्रहरीबारे नै भ्रामक सूचना सार्वजनिक हुनु निकै दुःखद् कुरा हो । नक्कली सूचना सार्वजनिक गर्नेबारे खोजी कार्यमा प्रहरी जुटेको छ । चाँडै पक्राउ गरेर कानूनी दायरामा ल्याउँछौं,’ प्रवक्ता केसीले भने ।