रोनाल्डोको ह्याटि्रकमा युनाइटेडको रोमाञ्चक जित

रोनाल्डोको ह्याटि्रकमा युनाइटेडको रोमाञ्चक जित



लन्डन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले टोटनहमबिरुद्द ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए ।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।

मिलानलाई पाँच अंकको अग्रता
इम्पोलीबिरुद्द १-० अन्तरको जितसंगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक छ । इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा छ ।

गय राति नै भएको अर्को खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ अन्तरले पराजित गर्दै शीर्ष चारमा बलियो पकड जमायो । भ्रमणकारी टोली युभेन्ट्सको जितमा अल्भारो मोरटाले दुई गोल गरे । एक गोल उपहार पायो । साम्पडोरीयाका माया योसिदाले आत्माघाती गोल गरे । जितसंगै युभेन्ट्स २९ खेलबाट ५६ अंक सहित चौथो स्थानमा छ ।