आर्सनल र चेल्सीको जित

आर्सनल र चेल्सीको जित



लन्डन । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल र चेल्सीले जित निकालेका छन् । चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गर्‍याे । खेल सकिन एक मिनेट बाँकी रहँदा काई हाभार्टजले चेल्सीको लागि विजयी गोल गरे ।

जितसंगै चेल्सी २८ खेलमा ५९ अंकसहित तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अंक कम हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ ।

आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले समान एक गोल गरे ।

खेलको ११औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ५९औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० अन्तरको सहज जित दिलाए ।

पीएसजीलाई १५ अंकको अग्रता
बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे ।

खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए । पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ । दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अंक रहेको छ ।

बार्सिलोना तेस्रो स्थानमा उक्लियो
ओसासुनाबिरुद्द ४-० अन्तरको सानदार जित निकाल्दै स्पेनिस ला लिगा क्लब बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई पिएरे इमरिक औवामियाङ र रिकी पुङले समान एक गोल गरे ।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा बार्सिलोनालाई अग्रता दिलाए । २१औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे । २७औं मिनेटमा औवामियाङले तेस्रो गोल गरे । पहिलो हाफमा तीन गोल गरेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍याे । ७५औं मिनेटमा रिकीले गोल गर्दै ४-० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २७ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ ।