काठमाडौं । तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनामा ग.२ ख ३०७ नम्बरको बस र ग.३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किदा तीन जनाको मृत्यु भएको । मृत्यु हुनेमा सुमो चालक समेत तीन जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल हुँदै पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये एक जनाको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल र पाँच जनाको सोही अस्पताल हुँदै नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । चार जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा लु.१४ प ६८६४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका भैरवस्थान बस्ने २० वर्षीय भरत गोदार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलमा बीआर ०७ एएम ३०६३ नम्बरको कार आइतबार राति दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–१ हथलेटवा बस्ने २२ वर्षीय धिरज मण्डल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जना घाइतेमध्ये १ जनालाई उपचारको लागि विराटनगर रिफर गरिएको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुर खोलामा ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । टिपरमा जन्ती सवार रहेका थिए ।
प्रतिक्रिया