पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२ अमेरिकामा हुने

पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२ अमेरिकामा हुने



काठमाडौं । पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२ यसपटक अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा हुने भएको छ । नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवर्द्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्द्धनका लागि कलाकारबीच पुनर्मिलन, भेटघाट र संवाद गराउने अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाज (एएनए) ले संयुक्त रूपमा यस अवार्डको आयोजना गर्न लागेका हुन् । ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष तथा प्रमुख आयोजक नवराज श्रेष्ठका अनुसार अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने छ ।

यस वर्षको एटिए एभरेष्ट इन्स्योरेन्स पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड म्युजिक भिडियो, संगीत, सञ्चार र सोसल अवार्ड समेत वितरण गरिनेछ । यसअघिका चार संस्करण अमेरिकाको कोलोराडोको डेनभर सहर, क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा आयोजना गरिएको थियो । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन ।