बसन्तपुर डबलीमा काठमाडौं महानगरको मनोमानी

बसन्तपुर डबलीमा काठमाडौं महानगरको मनोमानी



काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको ठाउँ बसन्तपुर डबलीमा राष्ट्रिय झन्डा राख्न कंक्रिटको संरचना बनाएको छ । डबली छेउमै कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा यसरी कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाउन पाइँदैन । तर, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको ठाडो निर्देशनमा झन्डा राख्नसंरचना निर्माण भइरहेको हो ।

उक्त क्षेत्रमा राष्ट्रिय झन्डा राख्न पर्याप्त ठाउँसमेत नरहेको भन्दै सम्पदाविद्हरूले विरोध जनाइरहेका छन् । तर, ठेकेदार कम्पनीले राति राति संरचना निर्माण थालेको छ । बसन्तपुर डबली भत्काएर कंक्रिटको संरचना नबनाउन पुरातत्व विभागले निर्देशन दिएको छ । तर, महानगरले पुरातत्व विभागको पत्रलाई बेवास्ता गर्दै हनुमानढोका डबली भत्काएर झन्डा राख्न संचरना बनाएको हो । आठवटा ३५ फिट अग्लो झन्डा राख्ने प्रयोजनका लागि महानगरले डबली मासेर ट्यांकी आकारका संरचना बनाएको हो ।

पुरातत्व विभागसँग समन्वय नगरी डबली भत्काएर महानगरले मनपरी ढंगबाट संरचना निर्माण गरेको भन्दै उक्त काम तत्काल रोक्न गत ६ फागुनमा महानगरलाई पत्र पठाएको थियो । तर, विभागको पत्रलाई बेवास्ता गर्दै महानगरले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर डबलीमा कंक्रिटको संरचना निर्माण गरेको हो । त्यसपछि विभागले तत्काल काम रोक्न अर्को पत्र पठायो । दुईवटा पत्र पाइसकेको महानगरले त्यसको बेवास्ता गर्दै संरचना तयार पारेको हो । अहिले सम्पदाविद्हरू तथा स्थानीयले विरोध जनाइरहेका छन् । विरोधपछि महानगरले राति राति काम थालेको छ । सोमबार राति काम गर्न आएका कामदारलाई स्थानीयले फिर्ता पठाइदिएका थिए ।

सम्पदा बचाउ अभियान्ता गणपतिलाल श्रेष्ठले महानगरले कति लागतमा निर्माण गर्न लागेको हो ? कुन ठेकेदार कम्पनीमार्फत निर्माण गर्न लागेको भनेरसमेत स्पष्ट पार्न नसकेको बताए । अहिलेको ठेकेदारले काठमाडौं महानगरका सम्पदा विभागका पूर्वप्रमुख रामबहादुर थापाको सल्लाहमा यस्तो संरचना निर्माण भइरहेको जानकारी दिएको बताए ।‘सम्पदा भत्काएर कंक्रिट प्रयोग गरी आठवटा नेपालको झन्डा राख्नुले हाम्रो राष्ट्रिय झन्डाको गरिमा बढ्छ ?

महानगरले सम्पदाको मर्म कहिले बुझ्ने ?’ उनले प्रश्न गरे । मेयर शाक्यको निर्देशनमा बनिरहेको उक्त संरचनाको अवलोकन गर्न उपप्रमुख हरिप्रभा खड्गी मंगलबार बिहान बसन्तपुर डबली पुगेकी छन् । डबलीमा बनेको कंक्रिट संरचना भत्काउनुपर्ने बताइन् । महानगरको बोर्ड बैठकबाट समेत पास नगरी झन्डा राख्न लागिएको भन्दै उनले भनिन्, ‘मेयरसाप एक्लैले निर्णय गर्न सक्नुहुन्न । यसमा महानगरको मात्र सरोकार हुन्न । सबैसँग छलफल गरेर मात्र निर्णय गर्नुपर्छ ।’