नयाँ स्वरुपमा आयौं हामी

नयाँ स्वरुपमा आयौं हामी



आजबाट ग्लोब नेपाल डट कम नयाँ लेआउटमा आएको छ । सन् २०१० मे देखि अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरबाट नियमित संचालन हुँदै आएको यो अनलाईन पोर्टल अब नयाँ साजसज्जा र नयाँ सामाग्री (खुराक) सहित पाठकका माझ प्रस्तुत हुनेछ। हामीले यस बीचमा अनुभव गरेका र हाम्रा पाठक एवं शुभेच्छुकहरुले दिनु भएको सुझावलाई समेत मध्यनजर गर्दै हामीले यो परिवर्तन गरेका छौं। हामीलाई विश्वास छ,यो नयाँ स्वरुप पाठक मैत्री पक्कै हुनेछ।

हामी सत्यतामा विश्वास गर्छौं र सत्य अनि तथ्यको खोजीमा निरन्तर जुट्नेछौं। हाम्रो प्रतिष्पर्धा हामीसंगै हुनेछ। हामी हतारमा समाचार प्रकाशन गरेर फुर्सदमा पछुताउने अनावश्यक होडबाजीमा लाग्ने छैनौं। यस बीचमा हामीले यहाँहरुबाट आर्जन गरेको विश्वास र साथ नै हाम्रो पुँजी हो जसले हामीलाई फेरि एककदम अघि बढ्न ऊर्जा प्रदान गरेको छ।

अब हामी विधिवत रुपमा नेपालबाट नै संचालित छौं। अनामनगरमा हाम्रो कार्यालय रहेको छ। हामी समग्र विश्व र विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायका गतिविधिलाई हाम्रो प्राथमिकतामा समेट्ने छौं। ‘संसार यसैमा’ हामीले हाम्रो उद्देश्य बनाएका छौं।

पछिल्लो एकबर्षको अवधिमा तपाईँहरुबाट पाएको माया, सद्भावले हामी उत्साहित छौँ । लोकतन्त्रको पहरेदार र नागरिकको सूचनाको अधिकारको सुरक्षा गर्ने हाम्रो उद्देश्य हो । हामी सत्य समाचार, निष्पक्ष विचार निरन्तर सम्प्रेषण गरिरहने छौँ ।

पाठक, शुभचिन्तक, विज्ञापनदाता, एजेन्सीहरु र लेखक एवं पत्रकार साथीहरुसहित ग्लोब नेपालको टिमप्रति हामी सधैं आभारी छौं/रहनेछौं । आगामी दिनमा पनि यहाँहरुको साथ, सहयोग, सल्लाह, सुझावको अपेक्षा गर्दै ग्लोब नेपाललाई मिडियाहरुको भीडमा एक अब्बल मिडिया बनाउने र विश्वको कुनाकुनासम्म पुगेर देशको संस्कृति, परम्परा, भाषा, साहित्य, रीतिरिवाजलाई प्रर्बद्धन गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रतिबद्धता हाम्रो,साथ,सहयोग,सुझाव र सल्लाह यहाँहरुको।

फागुको रंग जस्तै यहाँहरुको जीवन पनि रंगीन बनोस्। आपसी प्रेम र सद्भावका रंगहरुले जीवन उल्लासमय बन्न सकोस् – फागु पूर्णिमाको हार्दिक शुभकामना।