क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस


ग्लोब नेपाल
1.4k
Shares

सन फ्रान्सिस्को,क्यालिफोर्निया, मार्च २३ । क्यालिफोर्नियाको सन फ्रान्सिस्को शहरमा ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनार्ईएको छ । “भ्वाईसेज फर एक्सन अगेन्स्ट रेसिजम्” भन्ने नाराका साथ मनार्ईएको उक्त कार्यक्रमको आयोजना नेपलिज–अमेरिकन सोसल अर्गनाईजेशन (नासो कम्युनिटी) क्यालिफोर्निया च्याप्टरले गरेको थियो । सन फ्रान्सिस्को शहरको केन्द्रमा रहेको सिटी हलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय करीब २५ जनाको सहभागिता थियो ।

कार्यक्रममा नासो–क्यालिफोर्निया च्याप्टर–अध्यक्ष ध्रुवराज विश्वकर्माले जातीय विभेदविरुद्ध लड्नकालागि सामुहिक एकताको खाँचो रहेको र संस्थाले त्यसै अनुसारका गतिविधी संचालन गर्नुपर्ने बताए । त्यस्तै संस्थाका वरिष्ठ उपाध्यक्ष माया टमटाले अमेरिकामा आफ्नो व्यस्त समयका बावजुद पनि समुदायका लागि समय निकाल्नु पर्नेमा जोड दिए । नासो–क्यालिफोर्नियाका सदस्य जुम सुनारले आफुमाथि भएको जातीय विभेदका घटनाहरु बाहिर ल्याउनुपर्ने बताउँदै त्यस्ता घटनाको विरुद्ध लड्नु सबैको सामुहिक दायित्व भएको बताए ।

सामाजिक अभियन्ता प्रेम परियारले अमेरिकामा समेत जातीय विभेदका घटनाहरु बढीरहेको सन्दर्भमा त्यसका विरुद्ध एकताको खाँचो रहेको भन्दै आफुमाथि भएका जातीय विभेदका घटनाहरुका बारेमा खुलेर बोल्नुपर्नेमा जोड दिए । नासो–कम्युनिटी अमेरिकाका केन्द्रीय सदस्य भीमनारायण विश्वकर्माले २१ मार्च मनाउनुको ऐतिहासिक पृष्ठभूमीको बारेमा जानकारी दिंदै दिवसको महत्वमाथि प्रकाश पारेका थिए । साथै उनले अमेरिका जस्तो देशमा स्वयं आफुपनि जातीय विभेदको शिकार हुनु परेको स्मरण गर्दै जातीय विभेदका घटनाहरुमा शुन्य सहनशीलता राख्नुपर्ने बताए । उनले स्थानीय स्तरमा क्रियाशिल अन्य संघ संस्थाहरुसँगको समन्वय र सहकार्यलाई पनि सँगसँंगै लिएर जान सकेको अवस्थामा अझ अपेक्षित नतिजा निस्कने बताए । कार्यक्रमको व्यवस्थापन भीमनारायण विश्वकर्मा एवं संस्थाका सचिव कल्पना विश्वकर्माले गरेका थिए ।