त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता


ग्लोब नेपाल
270
Shares

काठमाडौं । यसै साता नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई श्रृखला खेल्यो । आयोजक यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी लिगमा नेपालले दुई खेल जित्दा दुईमै हार ब्यहाेर्याे । नेपालले पीएनजीविरुद्ध दुबै खेलमा जित निकाल्यो भने यूएईविरुद्ध हार ब्यहाेर्याे । दुबै खेलमा नेपाल खराब ब्याटिङको सिकार भयो । खेलाडीले धैर्यता गुमाउँदा टिमले ठुलो साझेदारी पाउन सकेन र यो श्रृंखला समग्रमा विर्सनलायक नै रह्यो ।

पहिलो खेलमा नेपालले पीएनजीलाई संघर्षपूर्ण खेलमा चार बल बाँकी रहँदा दुई विकेटको हरायो । जितका लागि २०४ रनको लक्ष्य पाएको नेपालले ४९ ओभर दुई बलमा आठ विकेट भेट्याएर पूरा गर्याे । दोस्रो खेलमा नेपाल यूएईसँगै ४८ रनले पराजित भयो । नेपाली बलर सामू चल्न नसक्दा यूएईले १६८ रनको लक्ष्य प्रस्तुत गर्याे । तर, नेपालका खेलाडीले धैर्यता गुमाउँदा ३५ ओभर एक बलमा मात्र १२० रन बनाउँदा सबै विकेट गुमायो । रोहित पौडेलले सर्वाधिक ४६ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा पेभिलियन फर्किए ।

तेस्रो खेलमा समेत नेपाल पुनः घरेलु टोली यूएईसँग ९९ रनले पराजित भयो । २०२ रनको लक्ष्य पछ्याएको नेपाल कुनै पनि समय खेलमा आफ्नो प्रभाव जमाउन सकेन । ३५ ओभर एक बलमा नेपालले सबै विकेट गुमाउनुअघि जम्मा १०३ रन जोड्यो । यस खेलको हारपछि भने प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप छामिछानेले पूरा प्रदर्शनबाट असन्तुष्टि जनाउँदै टोलीमा ठूलो परिवर्तनको खाँचो भएको जनाए । श्रृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालले पीएनजीलाई सात विकेटले पराजित गर्याे । १७३ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ३७ ओभरमा जम्मा तीन विकेट गुमाई सो लक्ष्य पुरा गर्याे ।
यूएईविरुद्ध पराजित भएपछि नेपाली टोलीका कप्तान सन्दीपले खेलाडीले धैयर्ता राखेर नखेलेको र रन बनाउन आत्तिएको प्रतिक्रिया दिए ।

‘ब्याटिङमा हत्तारिरहेका छौं । रन बनाउन आत्तिरहेको छौं । धैर्यता राखेर खेल्नुपर्छ । मलाई लाग्छ दुई सय रन कुनै ठुलो लक्ष्य छैन ।’ २१ वर्षीय कप्तान सन्दीपले भने । यता, प्रशिक्षक पुबुदु समेत पहिलो पटक हेरेको टिम र अहिलेको टिमको प्रदर्शनमा धेरै फरक भएको र केही परिवर्तनको खाँचो भएको जनाउँछन् । ‘पहिलेको टिमको प्रदर्शन र अहिलेको टिमको प्रदर्शन एकै छैन । धेरै फरक छ ।’ दोस्रो पटक नेपाली टिम हेरिरहेका पुबुदुले भने ।

यस पटक श्रृखलामा नेपालका ओपनरदेखि शीर्ष क्रमका ब्याटर नै चल्न सकेनन् । यस्तै, मध्यक्रमका ब्याटरले समेत टोलीलाई सहायता प्रदान गर्न सकेनन् । युवा खेलाडी कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडी नचल्दा नेपाली टिमले खराब प्रदर्शन बेहोर्नु पर्याे । धैर्यताको कमी, गैरजिम्मेवारी ब्याटिङ, तालमेलको कमी, साझेदारीमा कमजोर, शीर्ष ब्याटर नचल्नु जस्ता गल्तीका कारण नेपाली टिमले यूएईविरुद्ध दुबै खेल हार्नुपर्याे ।

कप्तान सन्दीप टिमको प्लानमा धेरे चेन्ज गर्नुपर्ने र केही कुरा सार्वजनिक गर्नु पनि उपयुक्त नहुने बताउँछन् । यस्तै, उनी नयाँ श्रृखलाका लागि टिमको ब्याटिङ लाइनमा परिवर्तन गर्नुपर्ने बताउँछन् । ‘हामीले जानि जानि गल्ती गरेका छैनौँ । तर, भइरहेको छ । हामीले जति चाडो यो समस्या ठिक गर्याै । बुझ्न सक्यौं त्यति नै चाडो रिजल्ट निस्कन्छ ।’‘सबैले राम्रो खेल्नुपर्छ र सबैले टिमको लागि सोच्नुपर्छ । टिमको बलिङ धेरै राम्रो छ । ब्याटिङमा धेरै परिवर्तन हुनुपर्छ । आउने श्रृखलामा केही चेन्ज हुनुपर्छ ।’ सन्दीप भन्छन् ।

खराब प्रदर्शन बाबजुद नेपाली टिम आज (बुधबार) स्वदेश फर्कदै छ । यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँग एकदिवसीय शृंखला र त्रिदेशीय टी–२० शृंखला खेल्दैछ । जसको लागि प्रशिक्षक पुबुदुले टोलीमा केही परिवर्तन समेत गरेका छन् । उनले केही नयाँ खेलाडीलाई स्थान दिँदै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विकेट किपर विनोद भण्डारीलाई टिम बाहिर राखेका छन् । अब, पुबुदुको लक्ष्य फेरि एक पटक धर्मराएको नेपालको ब्याटिङ लयलाई फर्काउँदै घरेलु मैदानमा दुबै श्रृखला जित्नु हुनेछ ।