नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश


ग्लोब नेपाल
216
Shares

लन्डन । बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बकिङहम प्यालेसमा हिजाे बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्नुभएकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन ।

सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल प्राकृतिकरूपमा सुन्दर रहेकोसमेत बताएको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट महारानी र बेलायती जनताको सुस्वास्थ्यको कामनासहितको शुभकामना सन्देश सुनाएका थिए ।

उक्त अवसरमा उनले बेलायत र नेपालको सम्बन्ध २०० वर्ष पुगेकामा आफूलाई खुसी लागेको र बेलायतले कोभिडको महामारीमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि थप सहयोग प्राप्त हुने आशा गरेकाे दूतावासका प्रवक्ता रोशन खनालले बताए ।