वैशाख ९ बाट नाटक ‘पल्पसा क्याफे’

वैशाख ९ बाट नाटक ‘पल्पसा क्याफे’


ग्लोब नेपाल
4.8k
Shares

काठमाडौं । नारायण वाग्लेले मदन पुरस्कार प्राप्त गरेको उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक वैशाख ९ गतेबाट मण्डला नाटकघरमा मञ्चन हुने भएको छ । नाटकमा अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने भएकी छन् । नाटकको अहिले अन्तिम तयारी भइरहेको नाट्य रुपान्तरण गरिरहेका सुरज सुवेदी बताउँछन् ।

विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा मञ्चन हुने नाटकमा दृश्य पात्रको भूमिका विमल आफैंले गर्ने भएका छन् । प्रमुख पात्र सिद्धार्थको भूमिकामा भने दिपेश राईले अभिनय गर्नेछन् । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यास अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । निर्देशक सुवेदी १५ वर्षपछि उपन्यासले त्यतिबेला उठाएका विषयहरूलाई वर्तमान समयमा उभिएर नाटकमा विवेचना गर्न लागिएको बताउँछन् ।

यसअघि सृष्टिले भने थिएटर भिलेजकै ‘ह्याम्लेट’मा अभिनय गरेकी थिइन् । ‘सान्दाजुको महाभारत’ , ‘यार्मा’, ‘ह्याम्लेट’, ‘मालिनी’ जस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाएका विमल सुवेदी लगभग एक दशकपछि पुनः अभिनयमा फर्किँदै छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा डिजाइन र डिरेक्सन अध्ययन गर्नुभन्दा पहिला विमल अभिनय र मोडलिङमा सक्रिय थिए । नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतको अभिनय रहनेछ ।