कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र लोकतन्त्र दिवसका दिन सार्वजनिक गर्ने

कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र लोकतन्त्र दिवसका दिन सार्वजनिक गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको हिजो पार्टी कार्यालयमा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र वैशाख ११ मा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

जनता र पार्टीका नेता÷कार्यकर्ताका सुझाव समेटेर घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी रहेको छ । समितिका सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्र दिवसका दिन घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिए ।

घोषणापत्रमा समेट्नुपर्ने विषयबारे सर्वसाधारण जनताबाट सुझाव आह्वान गरिने पनि उनले बताए । त्यसका लागि टोल फ्री नम्बर सार्वजनिक गर्ने र सामाजिक सञ्जालबाट पनि सुझाव पठाउन मिल्ने व्यवस्था गर्न लागिएको उनले बताए ।

२०७४ सालमा कांग्रेसले जितेका स्थानीय तहका प्रतिनिधिका सुझाव पनि कांग्रेसले लिने भएको छ । साथै पार्टीको पालिकास्तर कार्यसमितिबाट पनि घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव लिइने बताइएको छ । कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विषय विज्ञसँग पनि छलफल गरेर घोषणापत्रमा समावेश गर्ने एजेन्डा तय गरिने कांग्रेसको तयारी छ ।