रचियो इतिहास : अमेरिकामा पहिलो अश्वेत महिला न्यायाधीश

रचियो इतिहास : अमेरिकामा पहिलो अश्वेत महिला न्यायाधीश


ग्लोब नेपाल
945
Shares

अमेरिका । अमेरिकामा पहिलो अश्वेत महिला न्यायाधीश नियुक्त भएकी छिन्। बिहीवार अमेरिकी संसदको माथिल्लो सदन सिनेटले ५१ वर्षीया केतान्जी ब्राउन ज्याक्सनलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गरेसंगै अमेरिकी सर्वोच्च न्यायालयमा ब्राउन पहिलो अश्वेत महिला न्यायाधीश बन्ने भएकी हुन्। राष्ट्रपति जो बाइडेनले ब्राउनलाई न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेका हुन्।

कुल १०० सदस्य रहेको सिनेटमा राष्ट्रपतिको प्रस्तावका पक्षमा ५३ जनाको मत खसेको थियो भने विपक्षमा ४७ जना सिनेटरले मत दिए। ५३ मध्ये तीन जना रिपब्लिकन पार्टीका सिनेटरले पनि राष्ट्रपति बाइडेनको प्रस्तावका पक्षमा मत दिएका थिए। सिनेटले आफ्नो प्रस्ताव अनुमोदन गरे लगत्तै राष्ट्रपति बाइडेनले ट्वीटमार्फत् ज्याक्सनको मनोनयन ऐतिहासिक भन्दै खुशी ब्यक्त गरेका छन्।

सिनेटको अध्यक्षता उप राष्ट्रपतिले गर्दछन्। संयोग नै भन्नुपर्छ अहिले सिनेटको अध्यक्षता गर्ने उप राष्ट्रपति कमला ह्यारिश पहिलो अश्वेत अमेरिकी उप राष्ट्रपति हुन्। जसका पिता अफ्रिकन मूलका हुन् भने माता चाहिं भारतीय मूलकी हुन्। उप राष्ट्रपति ह्यारिशले क्यापिटल हिलस्थित सिनेटबाट न्यायाधीश ज्याक्सनको नाम अनुमोदन गरेको घोषणा गरिरहँदा राष्ट्रपति बाइडेन चाहिं ह्वाइट हाउसको आफ्नो कार्यकक्षमा आफुले सिफारिश गरेको उनै न्यायाधीश ज्याक्सनसंगै बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरिरहेका थिए। जब सिनेटले आफुलाई न्यायाधीश बन्न बाटो खोल्यो त्यो बेला उनी भावविव्हल हुँदै राष्ट्रपतिको हात समातेर खुशी साट्दै गरेको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरुले प्रसारण गरिरहेका थिए।

अमेरिकी सर्वोच्च अदालतको २३३ वर्ष लामो इतिहासमा यस पहिले कुनै पनि अश्वेत महिला न्यायाधीश बनेका छैनन्। चुनावी क्याम्पेनको बेला राष्ट्रपति पदका प्रत्यासी बाइडेनले सर्वोच्चमा अश्वेत महिलालाई न्यायाधीश बनाउने आफ्नो प्रतिवद्धता जनाएका थिए जसलाई उनले राष्ट्रपति भएपछि पुरा गरेका छन् र अमेरिकाले अश्वेत महिलालाई सर्वोच्चको पहिलो न्यायाधीश बनाउने इतिहास बिहीवार रचेको छ।