बास्केटबल लिग जेठमा

बास्केटबल लिग जेठमा


ग्लोब नेपाल
243
Shares

काठमाडौं । महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार पत्रकार सम्मेलनमार्फत पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो । दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।

लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागीता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी टोलीहरू निश्चित हुन बाँकी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, महिलातर्फको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपैयाँ पुरस्कार पाउने छन् । दुवै विधाका ‘प्लेअर अफ दी म्याच’ ले तीन हजार रुपैयाँ पाउनेछन् । यस्तै, दुवै विधाका उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १० हजार पाउनेछन् ।