आजदेखि निर्वाचन अधिकृत र कार्यालय प्रमुखलाई अभिमुखीकरण तालिम

आजदेखि निर्वाचन अधिकृत र कार्यालय प्रमुखलाई अभिमुखीकरण तालिम


ग्लोब नेपाल
324
Shares

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण सुरु गर्दै छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि आयोगले वैशाख ३ गतेसम्म सात ओटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७ सय ५३ निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तथा तालिमको आयोजना गर्न लागेको हो ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शम्शेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुने छन् ।

अभिमुखीकरण कार्यक्रममा निर्वाचनको बारेमा समाचार सङ्कलन, लेखन, प्रकाशन र प्रशारणसम्बन्धी ज्ञान आदनप्रदान गरिने प्रवक्ता पौडेलले जानकारी गराए । आयोगले स्थानीय तह निर्वाचनका लागि गत शुक्रवारदेखि लागु गरिएको आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई पनि प्राथमिकताका साथ निरन्तरता दिएको जनाएको छ । तालिम पश्चात सोही स्थानबाट निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराइने आयोगले जनाएको छ ।