ओखलढुंगा कांग्रेस जिल्ला सभापति नै मेयरका उम्मेदवार

ओखलढुंगा कांग्रेस जिल्ला सभापति नै मेयरका उम्मेदवार


ग्लोब नेपाल
343.7k
Shares

ओखलढुंगा । नेपाली कांग्रेसको उर्बर भूमि ठानिएको ओखलढुंगा जिल्लामा एउटा नगरपालिका र सातवटा गाउँपालिका रहेका छन् । स्थानीय निर्वाचनको माहोल तातेका बेला क्षमतावान् र योग्य नेता प्रशस्त भएको ओखलढुंगा कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस परेको छ । उम्मेदवारका आकांक्षी धेरै भएकाले पार्टी नेतृत्वलाई उम्मेदवार चयन गर्न सकस परेको हो । अर्कोतिर नेकपा माओवादी केन्द्रसँगको चुनावी तालमेलले उम्मेदवार संख्या घटाउनु पर्ने हुँदा व्यवस्थापन गर्न दवाव परेको देखिन्छ ।

जिल्लाका ८ मध्ये १ स्थानीय तहमा प्रमुख र नगरपालिका सहित ३ स्थानीय तहमा उपप्रमुख र १४ वटा वडामा माओवादीले उम्मेदवारी दिनेछ । माओवादीले चिशंखुगढी गाउँपालिका प्रमुख, सिद्धिचरण नगरपालिका उपप्रमुख तथा मोलुङ र चम्पादेवी गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादीका उम्मेदवार हुनेछन् ।

कुन पालिका उम्मेदवारमा कसको सम्भावना ?

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा पार्टी जिल्ला सभापति तेजेन्द्र खनाल आफै मेयरका प्रत्यासी हुन् । त्यसो त संस्थापनकै डिल्ली खनाल, प्रेम गुरुङ र सर्वधन तामाङको नाम पनि मेयरका लागि चर्चामा छ । त्यस्तै संस्थापन इतरका विनोद केसीको पनि नाम रहेको छ ।

यस्तै खिजिदेम्बा गाउँपालिकामा बेदबहादुर रोक्का, भूपेन्द्र बस्नेत र राम सुनुवारको नाम अध्यक्षमा चर्चा चलेको छ । उनीहरु सबै संस्थापन समूहका हुन् भने इतर समूहबाट अध्यक्षमा महेश कोर्मोचाको नाम पनि चर्चामा छ ।

मोलुङ गाउँपालिकामा युवा नेता प्रकाश दाहाल, यसअघिको पालिका निर्वाचनमा पराजित महेन्द्र कार्की, केन्द्रिय महाधिवेशन प्रतिनिधी गंगा कार्की, वडा नम्बर एकका वडा अध्यक्ष प्रदीप बानियाँ, नन्दलाल गिरी, राजन दाहाल र राम कार्कीको नाम चर्चामा छ । महेन्द्र कार्की र गिरी संस्थापन इतरका हुन् ।

यता, मानेभञ्जाङ गाउँपालिकामा ज्ञानेन्द्र रुम्दाली, मोतीराज राई, सविता राई र आश्राचन राईको नाम चर्चामा छ । सुनकोशी गाउँपालिकाको अध्यक्षमा भने वर्तमान अध्यक्ष रुद्र अधिकारी, जिल्ला उपसभापति कमल तामाङ र विष्णु खड्काको नाम चर्चामा छ । तामाङ संस्थापनइतरका मानिन्छन् भने अधिकारी र खड्का संस्थापन समूहका हुन् ।

चम्पादेवी गाउँपालिकामा वर्तमान अध्यक्ष नवराज केसी, अजय लुइँटेल, डिबी गिरी, उज्जन बुढाथोकीको नाम चर्चामा रहेको छ । गिरी र बुढाथोकी संस्थापन समूहका हुन् भने केसी र लुइँटेल इतर समूहका हुन् ।

त्यसैगरी, लिखु गाउँपालिकामा भने ६ जनाको नाम चर्चामा छ । जसमा अशोक कार्की, राजन सुवेदी, शान्तिराज खड्का, भुवन भट्टराई, बुद्धि कार्की र कुमार सुवेदी छन् । अशोक, राजन र कुमार संस्थापन समूहका हुन् भने शान्तिराज, भुवन र बद्री इतर समूहका हुन् ।