सर्वसम्मत भए डेलिगेट भण्डारी, राज्य संसदमा पुन: लड्ने बाटो खुल्यो

सर्वसम्मत भए डेलिगेट भण्डारी, राज्य संसदमा पुन: लड्ने बाटो खुल्यो


ग्लोब नेपाल
321.4k
Shares

अमेरिका । अमेरिकामा नेपाली मूलका पहिलो जन निर्वाचित प्रतिनिधि ह्यारी भण्डारी दोश्रो कार्यकालका लागि प्रारम्भिक चरणमा सर्वसम्मत चयन भएका छन्। अमेरिकामा नै निर्वाचित भएर राज्य संसदको विधायक हुने उनी पहिलो नेपाली हुन्। हाल उनी मेरिल्याण्ड राज्य संसदको सदस्य छन्। मेरिल्याण्ड डेमोक्र्याट पार्टीका केन्द्रीय सदस्य समेत रहेका डेलिगेट भण्डारी संसदको एसियन-अमेरिकन र प्यासिफिक-आइल्याण्डर ककसका प्रथम उपाध्यक्ष समेत छन्। संसदमा उनी स्वास्थ्य तथा सरकारी अफेयर्स कमिटीको सदस्य हुन्।

भण्डारी सन् २०१८ मा पहिलोपटक निर्वाचित भएका हुन्। उनको चार वर्षे कार्यकाल आगामी नोभेम्वरमा सकिन्छ र नोभेम्वरमा नै पुन: निर्वाचन समेत हुँदैछ। नोभेम्वरमा हुने निर्वाचनमा पार्टीका तर्फबाट भण्डारी दोश्रो कार्यकालका लागि उम्मेदवार बन्न आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत भएका हुन्। सर्वसम्मत भएसंगै अब उनले आन्तरिक चरणको पार्टीभित्रको प्राइमरी निर्वाचन लड्नुपर्ने छैन। अब उनी सिधै नोभेम्वरमा हुने राज्य संसदको निर्वाचनमा दोश्रो कार्यकालका लागि उम्मेदवार भएर मैदानमा उत्रिएका छन्। सामान्यत: बहालवाला सांसद दोश्रो कार्यकालका लागि चुनाव लड्न चाहेमा पार्टीभित्र यसैगरी सर्वसम्मत हुने गर्दछन्।

आगामी नोभेम्वरमा हुने राज्य संसदको निर्वाचनमा उनले अब रिपब्लिकन पार्टीका उम्मेदवारसंग सिधा प्रतिष्पर्धा गर्नुपर्नेछ। मेरिल्याण्ड संसदको लागि उनी पहिलोपटक निर्वाचित भएको क्षेत्र नम्वर ८ नै अहिले पनि उनको निर्वाचन क्षेत्र हो। तर यसपटक यो निर्वाचन क्षेत्रमा यसभन्दा पहिलेको निर्वाचनमा अन्य क्षेत्रमा रहेका केही इलाका थपिएका छन्। थपिएका इलाकामा डेमोक्र्याट वा रिपब्लिकन कसको प्रभाव बढी छ भन्नेले परिणाममा समेत प्रभाव पर्नेछ।

(पार्टीका तर्फबाट प्राइमरीमा सर्वसम्मत भएपछि डेलिगेट भण्डारीले आफ्नो फेसबुक वालमार्फत शेयर गरेको उनको विचार)