एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण


ग्लोब नेपाल
270
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत महिना राष्ट्रिय महिला लिगलाई मोफसलमा लैजाने निर्णय लिँदै स्थानीय निकायसँग सम्झौता गरे ।

सम्झौताअनुसार लिगको पहिलो चरण चितवनको शारदानगर र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा हुने पक्का भयो । जसअन्तर्गत १० चैतबाट सुरु भएको पहिलो चरण ३० चैतमा सम्पन्न भयो । यसपछि दोस्रो चरण पूर्वी नेपाल पुग्ने गरि महिला लिगले विश्राम पायो । तर, विश्राम समयमा समेत सुदूरपश्चिमको कैलाली, धनगढीमा महिला गोल्डकप हुने भयो । धनगढी रंगशालामा आयोजना भएको पहिलो मुख्यमन्त्री विवाइसी गोल्डकप शनिबार (हिजो) समाप्त भयो ।

चिरपरिचित विभागीय टोली एपीएफ फुटबल क्लबको घरेलु फुटबलमा रहेको दबदबा तोड्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले उपाधिसमेत जित्यो । तर, महिला लिग सकिएको १२ दिन भइसक्दासमेत दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन ।

एन्फाको चार वर्षे कार्यकालका लागि तय ६ असारको चुनाव र स्थानीय तहको चुनाव (३० वैशाख) का कारण महिला लिगलाई प्रत्यक्ष असर गरेको छ । एकातिर एन्फा चुनावका लागि दौडधुप र अर्का तिर आयोजना गर्ने भनेको स्थानीय सरकारको मौनताका कारण महिला लिगको दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन ।

‘हाम्रो योजनाअनुसार १५ वैशाखबाट दोस्रो चरण सुरु गर्ने हो । तर, योजनाअनुसार काम हुन पाएको छैन,’ एन्फाअन्तर्गत रहेको महिला विभाग प्रमुख हरि खड्का भन्छन् । खड्का अनुसार यही सोमबार र मंगलबार दोस्रो चरणको बारेमा बैठक बस्दै छ । सोही बैठकले आगामी लिगको मिति र तालिका सार्वजनिक गर्नेछ ।

यही बीचमा एन्फाअन्तर्गत रहेका रेफ्री संघ र महिला संघको समेत चुनाव हुँदा महिला लिग प्रभावित बनेको स्रोत बताउँछ । यस्तै स्थानीय आयोजकले चुनावका कारण आयोजनालाई मध्यनजर नगर्दा प्रतियोगिता थकेलिने अवस्थामा पुगेको हो ।

‘एन्फाको महिला संघ र रेफ्रीसंघ चुनावका कारण पनि प्रभावित भएको हो । अहिले सबै यतै (उपत्यका) मा व्यस्त छन् । अर्काे भनेको स्थानीय चुनावका कारण स्थानीय आयोजकले तीव्रता नदिँदा र ‘ओके’ नभनेकाले प्रतियोगिताको अन्योलता थपिएको हो,’ एन्फा स्रोत भन्छ ।

हाल सी र बी डिभिजन मताधिकार र प्रतिनिधि छनोटसँगै जिल्ला निर्वाचन भइरहेको छ । अधिकांश जिल्लाको चुनाव सकिँदा केही विवादमुक्त हुन नसकेका जिल्लाको चुनाव भने बाँकी नै छ ।

यस्तै प्रशिक्षक संघले सर्वसम्मतमा अध्यक्ष पाउँदा, महिला, रेफ्री र खेलाडी संघले समेत सर्वसम्मतमा अध्यक्ष पाउने निश्चित छ । तर शीर्ष पदाधिकारीदेखि नै महिला संघ, महिला कमिटी, रेफ्री संघ चुनावी माहोलमा उत्रिँदा महिला लिगको दोस्रो चरण अनिश्चित बनेको छ ।

यसअघि शारदानगरमा भएको महिला लिगमा सात चरणका खेल सकिएका छन् । जहाँ २८ खेल हुँदा दुई आत्माघाती र ६ ह्याट्रिक सहित १२५ गोल भए । आठ टिम सहभागी लिगमा चोटबाट रिकवरी हुँदै मैदान फर्किएकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) १४ गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् ।