अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन अमेरिकाले खोज्यो नेपालको साथ

अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन अमेरिकाले खोज्यो नेपालको साथ


ग्लोब नेपाल
243
Shares

काठमाडौं । अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन अमेरिकाले नेपालको साथ खोजेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्लु बेरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।

‘आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ,’ राजदूत बेरीले भनेका छन्, ‘यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ ।’

अमेरिका–नेपाल सम्बन्धको जग जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता रहेको उनले स्पष्ट पारेका छन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवधिमा दुवै देशमा भएका परिवर्तनमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएको उनले बताएका छन् ।

अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्ने गरेको उनले जनाएका छन् ।

‘यस साताले हामीलाई अमेरिकी र नेपालीहरूबिचको सम्बन्ध एक यस्तो सम्बन्ध हो जुन पुस्तौँदेखि चल्दै आएको छ र चलिरहने छ भन्ने कुराको स्मरण गराउँदछ,’ राजदूत बेरीले भनेका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले दुई देशबीचको साझेदारीलाई सशक्त झल्काउने दाबी उनले गरेका छन् ।

सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसंख्यालाई असर गरेको स्मरण गर्दै उनले युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गरेको जनाएका छन् । अमेरिकी सहयोगकको कारण सन् १९६८ भित्र औलोका बिरामीहरूको संख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झरेका पनि उनले बताएका छन् ।

‘महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ,’ उनले भनेका छन् ।

गत फागुनमा नेपाल सरकारले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रमबाट नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने र २ करोड ३० लाखभन्दा बढी नेपाली जनता लाभान्वित हुने रातदूत बेरीले बताएका छन् ।

‘नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ । सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ । झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ । यस कार्यक्रमका परिणाममध्ये काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ,’ राजदूतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।