जब रामपुरमा फिल्म चल्यो

जब रामपुरमा फिल्म चल्यो



त्यो गोधुली बिस्तारै पूर्वतिर हिँडिरहेको थियो ।

सिमानेले पूर्वतिर तन्किएको आफ्नै छायाँ हेर्यो । मुडुलो टाउकोमा आफ्नो नरम हत्केला दौडायो । केटीलेझैँ लामो कपाल पाल्न उसलाई साँच्चै मन थिएन । तर उसको छेवरको साइत नै बाह्रौँ जन्मदिनमा जुरेको थियो । अन्ततः त्यो साँझबाट उसले आफ्नी आमालाई ‘कपाल कहिले काट्ने हो र ?’ भन्ने सोधेर दिक्क पार्ने थिएन । उसलाई कपाल नभएकै काइदा लाग्यो । अनि साँझ नहुन्जेल सिमाने आफ्नो छायाँ हेर्दै बस्यो । त्यसैबेला एक हुल केटाकेटीहरू हल्लाखल्ला गर्दै समीको चौतारातिर दौडिदै थिए । उसलाई साथीहरूसितै गाउँ डुल्न मन लाग्यो ।

बाटोतिर टोलाएको छोरोलाई देखेर बूढो रामवीरेले भन्यो, ‘उता नजा ! हलुङ्गो छायाँ छ तेरो । वायुले समात्छ ।’

ऊ उता गएन । कपाल काटेकै दिन साँझतिर बाहिर नहिँडेको राम्रो भनेर उसकी आमाले सम्झाई । तर उसलाई गाउँमा के–के चाहिँ भइरहेको होला भन्ने जान्न मन थियो ।

सिमानेलाई खुशी र भयले अँठ्याएको त्यही अनौठो साँझ रामपुरमा पहिलो पटक बिजुली बल्यो । यस्तो लाग्थ्यो मानौँ पहाडी गाउँमा जून खसेको थियो । इन्द्रेणी छाँगाको पानीले घुमाएको थियो डाइनामो । अनि चमत्कारिक ढङ्गमा बलेको थियो उज्यालो । त्यो सबै चमत्कार ‘सुके’ले गरेको थियो । सुके एकदम भिन्न खालको मान्छे थियो । रेडियो र घडी मर्मत गर्न सक्ने गाउँमा ऊ मात्रै थियो । छोटो–मोटो मिस्त्री नै थियो ऊ । अनि गजब त सुके निक्कै मोटो थियो । उसको आफ्नै नामले आफ्नै ज्यानको साथ नदिए पनि ऊ असल लोग्ने, बावु र छिमेकी थियो । उसको बुद्धि देख्दा लाग्थ्यो उसलाई देउताको पनि साथ थियो । कहीँकतै नामको कुरा आयो भने ऊ एकदम सामान्य तवरमा भन्थ्यो, ‘नाममा के छ र !’ यो शेक्सपियरबाटै सापट लिएको वाक्य थियो वा थिएन कसैलाई पनि थाहा थिएन ।

अँ, अनि बिजुली ल्याउने उही सुकेले एउटा टिभी पनि ल्यायो । गाउँभरिको सबैभन्दा अग्लो बाँसको घना छानेर काट्यो । त्यो बाँसको टुप्पोमा ठड्यायो एन्टेना । गाउँलेहरूको भीड लाग्यो टिभी हेर्न । घरको धुरीमा चढेर गाउँका जवान केटाहरूले थेगे त्यो बाँस । अनि तल आँगनमा टिभी चलाउँदै सुकेले भन्यो, ‘हाई, हाई, अझै हाई ।’ केटाहरूले पनि ‘हाई’ गरे । तर टिभीले झ्यार गर्यो । झुर गर्यो । ब्ल्याक एण्ड ह्वाईट टिभीमा श्याम–श्वेत दानाहरू देखिए । किरिङमिरिङ भयो टिभीको पर्दा । गाउँका एक भद्र बूढाले भने, ‘यो त युरिया मल, डिएपी मलको कारखाना पो देखायो क्या हो !’ सालको पातमा सुर्ती बेर्दै अर्का बूढाले प्रतिवाद गरे, ‘होइन, ए होई कान्छ, यो त कलकत्तामा पानी परेको पो देखायो त । म कलकत्ता गएको साल यस्तै उधुम पानी परेको थियो । यस्तै बजेर, झ्याईँ–झ्याईँ, बजेर !’

काठमाण्डु गएर फर्केको एउटा केटो, जसले अघिदेखि नै रिमोटका अङ्ग्रेजी शब्दहरू र चिन्हहरू सुकेलाई सिकाउँदै थियो, उसले भन्यो— ‘टिपेन, टिपेन । नटिप्ने रहेछ !’ त्यसपछि सुकेले पनि हार मान्यो । धुरीतिर हेर्दै अलि ठूलो स्वरमा भन्यो, ‘भएन हौ केटाहरू । छाडिदेओ ।’ केटाहरूले पनि बिस्तारै धुरीबाट बाँस झारे । एन्टेना झारे । तार तुर्लुङ्ग झुण्डियो । पसिना–पसिना भएको एउटा केटोले चाहिँ भन्यो, ‘ठड्याउँदा–ठड्याउँदै ओखलढुङ्गा देखियो होला । यो टिभीले तानेन है !’ अर्काले भन्यो, ‘दुई घनाले चाहिँ टिप्थ्यो कि !’

गाउँभरिका सबैका घरमा राखेर टिभी टिपाउने प्रयास गरे । तर अहँ टिपेन । टिप्दै–टिपेन । बरु त्यही काठमाण्डुबाट फर्केको केटाले भन्यो, ‘यहाँ सिग्नलै छैन । टिप्दैन । पछिपछि टिप्ला कि !’ त्यसपछि सुकेले महिना दिनजस्तो टिभीको वास्तै गरेन । यस्तो ग¥यो मानौँ उसको घरमा टिभी नै छैन ।

वर्षा लाग्यो । रोपाईँ भयो । सकियो । अनि शरद लाग्यो । बाढी पहिरो पनि थामियो । मोलुङ्ग खोलो सङ्लो भयो । अनि सुके काठमाण्डु गयो । समय बित्न के बेर ! फर्केर पनि आयो । हो, त्यसपछि दशैँ पनि आयो । सबैले दशैँमा नयाँ लुगा ल्याए । खसी ल्याए । चिउरा ल्याए । मिलाएर भन्दा सबैले खुशी ल्याए । तर सुकेले खुशीमाथि खुशी ल्यायो । एउटा भीसीडी प्लेयर पनि ल्यायो । ल्यायो केही थान भीसीडीहरू । भीसीडीलाई चक्का भन्न सिकायो । भीसीडी प्लेयरलाई चाहिँ डेक । गाउँले बोलीमा दुईवटा नयाँ शब्दहरूले स्थान पाए ।

‘दशैँ त सुकेले पो ल्यायो त होइ !’ फलैँचामा सुर्ती माड्दै बुईँगले बाले भने ।

‘ल्यायो त । बजिया गथ्र्यो पैलादेखि नि ताने–र–तुने ।’ बाँसको हाँगाले दाँत माझ्दै गरेका खँगाई बूढाले पिच्च थुक्दै थपे, ‘अब रमिता देखाइदिन्छ सुकेले ।’

अनि त त्यो दशैँमा बेँसीबाट गोठ लिएर फर्केका अल्लारे ठिटाहरूको बासै सुकेको घरमा भयो । त्यो साल पिङतिर पनि उस्तो घुइँचो भएन । केटाकेटीदेखि बूढाबूढी, सबैको ताँती लाग्यो सुकेको आँगनमा ।

ब्ल्याक एण्ड ह्वाइट टिभीलाई सादा टिभी भने गाउँलेहरूले । सत्र इन्चको सादा टिभीमा फूलपातीको रात पहिलो फिल्म लाग्यो । नेपाली कथानक चलचित्र— ‘आर्मी’ । त्यो माओवादीको याम थियो । त्यो रगतको मौसम थियो । त्यो क्रान्तिको समय थियो । अनि फिल्म पनि उस्तै चलाएको थियो सुकेले । मन्द–मन्द जाडोमा बढोत्तरी थियो । गाउँलेहरू आफ्ना सबैभन्दा न्याना लुगा लगाएर गुन्द्रीमा, पिरामा, मुढामा अनि दलानको खाटमा बसेका थिए । कुनै पनि ठाउँ खाली थिएन ।

फिल्ममा अनौठो सङ्गीत थियो । मादल, मुरली, पञ्चेबाजाजस्ता आदीम सङ्गीतसित पोख्त कानहरूमा नयाँ ध्वनिले गजब छाप छोड्यो । स्कुले केटाकेटीहरूले पर्दामा झिलिक्क–मिलिक्क आउने नामहरू छिटो–छिटो पढ्न खोजे । अलिकता हल्लाखल्ला नै मच्चियो । त्यसबेला कोही बाठोटाठो केटाले उनीहरूलाई हकार्यो ।

फिल्ममा युद्धका दृश्यहरू थिए । नाचगानहरू पनि थिए । नायिकाका सुडौल पिँडौलाले नै त्यो जमानाका तन्नेरीहरूलाई माताइदिन्थे । यस्तैमा हेम दाजुले सुर्ती सल्काए । एक सर्को ताने । फुरुरु धुवाँ फ्याले । अनि भने, ‘होइन, के छिटो लुगा फेर्दारछन् त है गाँठे ! उः देखेउ ! ल, ल हेर ! ऐले जामा लाकी थिई, ऐले पाँएट छ !’
सबैले अनौठो माने । हेम दाजुका जति ध्यान दिएका रहेनछौँ भन्ने सोचे । खुब ध्यान दिएर हेर्नथाले । एउटा केटाले अलि ठूलो स्वरमा भन्यो, ‘आम्मामा ! त्यत्रो बम हान्दा पनि यो टिभी फुटेन होई !’

वास्तवमा त्यो बालशुलभ आश्चार्यमा हाँसोको पर्रा छुट्नु पर्नेथियो । तर त्यसो भएन । सबैले त्यो केटोको बुद्धिलाई माने । सबैजनाले छक्क परेर केहीबेर सोचे । अनि फेरि फिल्ममै रमाए । यस्तै हाँसो, अचम्म, के होला र के होला भन्नेमै फिल्म आधा भयो । मध्यान्तर देखायो पर्दामा ।

फिल्मजस्तो कुरा बीचैमा छोडेर हिँड्ने कसको हिम्मत ! अघिदेखि पिसाबले पेलेर मर्नु नभएको त कहाँ हो र । अनि अर्को चक्का नहालुन्जेल सुइँक्याएर आउनलाई मान्छेहरू बाँसका झ्याँङतिर कुदे । एउटा काठमाण्डुबाट दशैँको लागि घर फर्केको केटोले भन्यो, ‘यो हिरोनीलाई त मैले देखेको छु, काठमाण्डुमा !’

हँ ! सुन्नेहरूको पिसाब नै एकछिन रोकियो । सबै जना आश्चार्यमा परे । सबैले अँध्यारोमै भए पनि त्यो केटोतिर मुख फर्काए । अचम्मले गर्दा सबैका ओठहरू खुलेका थिए । आँखीभौँ तन्किएका थिए । तर त्यो अँध्यारोमा के थाहा के भइरहेको थियो । एउटाले त प्यान्टमै तुर्क्याएछ । ‘आच्छु’ भन्यो ।

त्यो केटोले भन्यो, ‘बालाजुमा फिल्म सुटिङ्ग भइरहेको हुन्छ । म बस्ने नि बालाजु हो । यस्ता हिरो–हिरोनी त कति भेटिन्छ–भेटिन्छ ।’

अब के ! सबैभित्र उसका प्रति आकास्मिक तवरले सम्मान जाग्यो । मान्छेहरूले उसलाई छुट्टै नजरले हेर्नथाले ।

फेरि फिल्मको दोस्रो भागका लागि मान्छेहरू बसे । उस्तै रोमाञ्चका साथ फिल्म हेरे । टिभीको पर्दामा समाप्त लेख्यो । फिल्म सकियो ।
त्यसपछि—
एक जना रामपुर स्कुलका शिक्षकले मडुवा खैनी च्यापेर पिच्च थुकेपछि भने, ‘मैले आजसम्म हेरेको फिल्म मध्येकै राम्रो फिल्म रहेछ यो ।’ तर मान्छेहरूले शङ्का गरे कि उनले पहिला कुनै फिल्म पनि हेरेका थिएनन् ! बोल्न भने कोही पनि बोलेनन् ।

फागुने बूढालाई चाहिँ किन–किन त्यसरी केटा र केटी जोल्ठिएको चित्त बुझेन । उनले त भने, ‘यो सुकेले फिलिम त देखायो तर अब छोरीरबुहारी पोइला जान्छन् है !’ अनि अघि छेलियो भनेर टाउको होच्याउन लगाउने चाहिँ उही बूढा थिए, एकदम चाख मानेर हेर्ने चाहिँ उनै थिए । मान्छेहरू मनमनै उनको प्रवृत्ति बारे हाँसे ।

अल्लारे केटाहरूको मनमा त एक किसिमको उकुसमुकस नै भयो । उनीहरूले हिरोइनका भुक्क उठेका यौवनका उभारका कुरा गरे । नाचका कुरा गरे । फिल्म हेर्नुमा निक्कै मज्जा रहेछ भन्ने निश्कर्ष निकाले । उनीहरूले केही भनेनन् तर कपर्दी खेल्नु, मोलुङ्ग खोलामा माछा मार्नु, बजारबाट एक्लै घर फर्केकी तरूनीको बाटो छेकेर जिस्क्याउनु, अर्काको बारीका काँक्रा वा भोगटे चोर्नुजस्ता अल्लारे काम गर्नुभन्दा फिल्ममा छुट्टै रस भएको बुझे ।

त्यो बाह्र वर्षको सिमानेले चाहिँ आफ्नो घरमा बेला–बेला आउने माओवादी छापामारहरू, तिनीहरूले बोक्ने पिस्तोल र बमहरू सम्झ्यो । उसलाई सधैँ क्रान्तिकारी बन्नुपर्छ भन्ने योद्धाहरूलाई किन सैनिकले मारेका होलान् भन्ने लाग्यो । उसका बुवाआमालाई सधैँ मुक्ति दिन्छौँ भन्ने क्रान्तिकारीहरूलाई मार्ने सैनिकदेखि उसलाई रिस उठ्यो । उसलाई कमरेड आकाशले भनेको कुरा याद आयो—‘छिट्टै ठूलो हुनु र युद्धमा लड्नु ।’ अनि मनमनै, ‘ठूलो भएपछि माओवादी बन्छु र सैनिकहरूलाई मार्छु’ भन्ने अठोट गर्यो । फिल्म हेर्नुमा छुट्टै मज्जा भए पनि ती रातो तारा भएको टोपी लगाउने मान्छेलाई मारेको उसलाई मन परेन । मनमा निक्कै कुराहरू खेले ।

अन्ततः सिमानेले आफ्नो साथी सूर्यलाई सोध्यो, ‘तँलाई सैनिक मनपर्छ कि माओवादी ?’

सूर्यले सबै कुरा जानेझैँ भन्यो, ‘सैनिक मनपर्छ नि । माओवादी त दुश्मन हुन् ।’

अब भने सिमानेलाई एकदम नकाइदा लाग्यो । आफ्नै साथीले पनि उसको मनको कुरा बुझिदिएन । दुश्मन त माओवादी छापामारले सैनिकलाई भन्ने कुरा थियो । घर फर्किँदा बाटोमा उसलाई एकदम नरमाइलो लाग्यो । उसले सोचिरह्यो, ‘म कहिले चाहिँ ठूलो हुन्छु !’

त्यो रात ऊ छट्पटिरह्यो । ननिदाएको आफ्नो छोरोलाई आमाले भनी, ‘राति नहिँड् भनेको मानिनस् । केही लागेजस्तो छ ।’ अनि लोग्नेतिर फर्किएर भनी, ‘बुईँगले बालाई फुक्न बोलाउने पो हो कि ! हनहन ज्वरो पो छ त !’

रामवीरेले छोराको नाडी छाम्यो । निधारमा हात राखेर एकछिन जाँच्यो । अनि भन्यो, ‘पक्का पनि काँचो वायुले छोयो । बुईँगलेलाई त ल्याउनै पर्छ ।’

अँगेनामा छोपिराखेको अगुल्टो झिकेर सालको पातमा बेह्रिराखेको सुर्ती सल्कायो । एक सर्को तान्यो । त्यसपछि बाहिर निस्किँदै बोल्यो, ‘सुर्ती सकिएछ । आउँदो हाटमा सुर्ते बूढाबाट उधारो ल्याइराख । म गएँ ।’

त्यसैबेला सिमानेले भन्यो, ‘बा ! मलाई एउटा खुकुरी बनाइदिनु न ।’

रामवीरे करसामा पुग्दा स्वास्नीले भनेको सुन्यो, ‘कस्तो बरबराएको होला । छिट्टै ल्याउनु धामी । छिट्टै ।’
०००
(लेखक घिमिरेको ‘प्रयोग’ कथा संग्रह प्रकाशित छ ।)