स्थानीय तहको निर्वाचन रौनक, उम्मेदवारहरू घरदैलाेमा व्यस्त

स्थानीय तहको निर्वाचन रौनक, उम्मेदवारहरू घरदैलाेमा व्यस्त


ग्लोब नेपाल
324
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन दश दिनमात्र बाँकी रहँदा उम्मेदवारहरूले मत माग्न घरदैलो अयिभानलाई तीव्रता दिएका छन् । दलका आधिकारीक उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारहरू पनि घरदैलो अभियानसहित सभा सम्मेलनको आयोजना गर्न र आफ्नो कुरा भन्नमा व्यस्त छन् ।

६ महानगर मध्येको एक काठमाडौँ महानगरपालिकाको प्रमुखमा ५५ जनाको उम्मेदवारी परेको छ । ६ लाख ३७ हजारभन्दा बढी मतदाता रहेको काठमाडौंमा कांग्रेस, एमाले, राप्रपा, विवेशील साझा र एकजना स्वतन्त्र उमेद्वारको चर्चा बढि भए पनि प्रमुख प्रतिस्पर्धा काँग्रेस र एमालेबीच हुने ठानिएको छ ।

सत्ता गठबन्धनको समर्थनमा कांग्रेसबाट उम्मेद्वार बनेकी सिर्जना सिंह आफ्ना सात सङ्कल्पसहित चुनावी प्रचार अभियानमा व्यस्त छिन् । सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताइन् । वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिले पदको अपेक्षा नगरेको उनको भनाइ छ । महानगरको हकमा युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने,पर्यटकीय,व्यापारिक केन्द्र बनाउने,स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्ने कांग्रेस नेतृ सिंहले बताइन् ।

एमालेबाट मेयर पदमा केशव स्थापितले उम्मेदवारी दिएका छन् । विगत हेर्दा पर्याप्त मताधार रहेका कांग्रेस र एमालेसँगै स्वतन्त्र उम्मेद्वार बालेन शाहको पनि चर्चा छ ।

यतिखेर कतिपय मतदाताहरू आफ्नो नजिकको उम्मेदवारलाई जिताउने अभियानमा पनि लागिरहेका छन् । कतिपय राजनीतिक दलले आफ्नो प्रभावमा पारेर मतदाताहरूलाई घर लैजान सम्पर्क तथा समन्वय गर्न थालेका छन् । तर कुनै पनि राजनीतिक दलले गाडी रिजर्भ गरेर मतदाता लैजाने विषय आचारसंहिता विपरित हो ।