प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता

प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता


ग्लोब नेपाल
1.7k
Shares

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सयवटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् ।

बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई दिएको बताए । खड्काले भने, ‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निस्कृय गरेर, मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको हुँ ।’

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो । स्वतन्त्र उम्मेदवारी दिएपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैशीलाई हस्तान्तरण गरेको उनले स्पष्ट पारे ।

ताँजाकोटमा माओवादीका जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा छ । यसअघि स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन बुढाले पनि आफ्नो उम्मेदवारी निस्कृय गराएका छन् ।