रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो : सभापति देउवा

रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो : सभापति देउवा


ग्लोब नेपाल
324
Shares

चितवन । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु काँग्रेसको कर्तव्य रहेको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम काँग्रेसले गर्न नहुने बताए । भरतपुर महानगरको मेयरका रूपमा रेनुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेनुले हारे चितवनका जनता रिसाउने बताए ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रणु दाहालले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले बागीको रुपमा स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । साथै बिहीबार आयोजित सभामा वक्ताको रुपमा सम्बोधन गरेका चितवनका नेताहरुले गठबन्धन टुट्न सक्ने, यसअघि जस्तै रेणुका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिन सक्ने आशंका गरेका थिए । तत् पश्चात सम्बोधन गरेका प्रचण्ड र देउवाले गठबन्धन नटुट्ने दाबी गरे ।

कुनै पनि हालतमा गठबन्धन नटुट्ने भन्दै रेणुलाई भोट दिन आह्वान गर्दै देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । कुनै पनि हालतमा गठबन्धन टुट्ने काम हुँदैन । राम्रो काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्ने हो । तर, यहीँकै साथीले विरोध गर्नु भएको छ । हाम्रो पार्टीले कुनै बखेडा झिक्नु जरुरी छैन ।’