एक राष्ट्रसेवकको करिअर कत्लेआम

एक राष्ट्रसेवकको करिअर कत्लेआम



नेपालको इतिहासमा आफ्नो सनकका लागि प्रसिद्धी कमाएका शासकहरुको कमी छैन । इतिहास खोतल्ने हो भने सन्की शासकको कुकृत्य लिपिबद्ध छन् । काजी भीम मल्लकी पत्नीले ‘दरबारको भलो चाहनेको सधैं यस्तै गति होस्’ भनी दिएको श्राप इतिहासको हरेक कालखण्डमा उदाहरण बनेका छन् ।

यतिबेला दरबार त छैन, तर देशको भलो गर्न खोज्नेहरु यहाँ काजी भीम मल्ल बनाइन्छ । समय र परिवेश फरक होला, तर धर्ती यही हो, सन्की शासकबाट इमान्दार, अनुशासित र कर्तव्यनिष्ट राष्ट्रसेवकको करिअर कत्लेआम गर्ने सिलसिला जारी छ ।

प्रहरी महानिरीक्षकको बढुवा प्रसँग पनि सन्की शासकले त्यही हर्कतको निकृष्ट नमूना हो । जुन १७ औं शताब्दीमा लक्ष्मीनर सिंह मल्लले गरेका थिए । प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि एक नम्बरमा रहेको एआईजीलाई आईजीपीको जिम्मेवारी दिइनु पथ्र्यो । तर यहाँ तेस्रो नम्बरका धिरजप्रताप सिंहलाई रोजेर जिम्मेवारी दिइएको छ ।

यतिबेलाका शासक भनेका शेरबहादुर देउवा हुन् । उनलाई एक इमान्दार र कर्तव्यनिष्ट राष्ट्रसेवकको करिअरमा धावा बोल्न के कुराले प्रेरित ग-यो, त्यो झन् चाख लाग्दो विषय छ ।

सन्काहहरुका लागि यो घटना सामान्य लाग्ला, तर जसले सेवा सुरु गरेपछि प्रहरी नेतृत्वमा पुग्न जुन मेहनत, लगनशीलता र कर्तव्य पालना गरेको हुन्छ, उसका लागि यो घटना असमान्य हो । तर शासकले सजिलै राज्यको अबयब प्रयोग गरेर राष्ट्र सेवकको करिअरमा धावा बोलेका छन् । यो काजी भीम मल्लले भोगेको पीडाभन्दा कम होइन ।

यतिबेलाका शासक भनेका शेरबहादुर देउवा हुन् । उनलाई एक इमान्दार र कर्तव्यनिष्ट राष्ट्रसेवकको करिअरमा धावा बोल्न के कुराले प्रेरित ग-यो, त्यो झन् चाख लाग्दो विषय छ । अर्थात् प्रहरी महानिरीक्षक बनाउन एक नम्बरका एआईजी विश्वराज पोखरेललाई छोडेर तेस्रो नम्बरका सिंहलाई देउवाले किन रोज्न पुगे ? यसभित्रको कथा पनि इतिहासमा लिपिबद्ध हुन जरुरी छ ।

एआईजीको वरियतामा तेस्रो नम्बरमा रहेका सिंह कुनै चमत्कारिक व्यक्ति होइनन् । सिंह आईजीपी बन्नका लागि तीनवटा कुराले पर्याप्त रह्यो । उनी सुदूरपश्चिमका ठकुरी हुन् । शासन र राजकाज भन्ने कुरा ठकुरीले मात्र चलाउन जान्दछ भन्ने दम्भ वर्तमान शासकका ससुराली खलकको हो । यिनै ससुराली खलकको कुरा काट्न नसक्दा नियम, कानुन र नजिरलाई तिलान्जली दिएर तेस्रो वरियताका एआईजी सिंहलाई देउवाले प्रहरी महानिरीक्षक बनाएका हुन् भन्ने कुरा घामझै छर्लङ देखिएको विषय हो ।

ओलखढुंगा र नेपाली कांग्रेस पर्याय हो । त्यही ओखलढुंगामा कांग्रेस राजनीतिमा भिजेको पृष्ठभूमिबाट हुर्केका विश्वराज सामान्य किसान र बाहुन परिवारमा जन्मिनु आफैमा गल्ती थिएन । तर शासनको दम्भ बोकेकाहरुले यसलाई गल्ती सावित गर्न खोजेका छन् । यो कदापी न्यायोचित हुँदैन र हुनसक्दैन ।

सन्की शासनको अन्यायविरुद्ध विश्वराज यतिबेला न्यायलय पुगेका छन् । न्यायलयमा पनि सन्की शासकको छायाँ देखियो । आफैले डेढ महिनाअघि एआईजीको फुली लगाइदिएको व्यक्तिलाई म कसरी सलाम ठोकेर महानिरीक्षक मानुँ श्रीमान् भनेर विश्वराजले अदालतसमक्ष घुँडा टेकेर न्याय मागे । अदालत तुरुन्तै केही गर्न सक्ने अवस्था रहेन । अर्थात् सन्की शासकका भारदारले अदालतमा अहिलेसम्म नभएको अभ्यास गरेर न्यायधीशलाई प्रभाव पार्ने प्रयास गरेको देखियो । त्यही प्रभावले सन्की शासकको छायाँ पहिलो चरणमा विजयी भएको छ । न्याय पाउने आशा अझै मरिसकेको छैन । सम्मानित सर्वोच्च अदालतले सन्की शासकको युग समाप्त भइसकेको जनाउ दिन अब ढिला गर्न हुँदैन ।