भारतमा बन्धक बनाइएका नेपालीको उद्धार

भारतमा बन्धक बनाइएका नेपालीको उद्धार


ग्लोब नेपाल
0
Shares

जलेश्वर । रोजगारीका लागि भारतको हरियाणा पुगेर साहुको बन्धकमा परेका महोत्तरीको बर्दीबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १६ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ।

उनीहरूलाई सरोकारवाला निकाय, बर्दीबास–१४ का वडाध्यक्ष विजयकुमार महतो र ‘आफन्त नेपाल फाउन्डेसन’ को रोहवरमा गत बुधबार सीमावर्ती भिट्ठामोड चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।

२०८२ चैत १३ गते ३४ जनाको समूह रोजगारीका लागि बर्दीबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका नेपाली भारतको हरियाणा राज्यको झन्झर थानामा अवस्थित पोल्ट्री फार्ममा गएका थिए। त्यसमध्ये १६ जना साहुको बन्धकमा परेका थिए।

बन्धकमा परेका बर्दीबास–१४ स्थित मुसहर बस्तीका ३५ वर्षीय विष्णु सदा, ३० वर्षीय महावती सदा, १० वर्षीय अरुन सदा, २६ वर्षीय अमृत सदा, १९ वर्षीय किरण सदा, ३५ वर्र्षीय झरी सदालाई परिवारको जिम्मा लगाइएको छ।

त्यसै गरी ३४ वर्षीय लालमुनि सदा, १७ वर्षीय काजल सदा, १३ वर्षीय साजन सदा, नौ वर्षीय शङ्कर सदा, ४० वर्षीय मोहन सदा, ४५ वर्षीय बच्ची सदा, १८ वर्षीय मुकेश सदा, १५ वर्षीय आशिष सदा, १७ वर्षीय अजय सदा र १२ वर्षीय किरण सदासमेत गरी १६ जनालाई परिवारको जिम्मा लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार पीडितहरू बेचबिखनको चपेटामा नभई पारिवारिक रूपमै रोजगारीका सिलसिलामा भारत गएको अनुसन्धानबाट खुलेको हो । भारत पुगेपछि यहाँबाट मासिक पारिश्रमिक दिने र खान बस्ने व्यवस्था गर्ने गरी लगिएको भए पनि उनीहरूलाई खान बस्ने मात्र व्यवस्था गरेर काम गर्न लगाइयो र घरसमेत आउन नदिएको अवस्थामा पीडितलाई उद्धार गरिएको उनले बताए ।